राजस्व विभागले पत्ता लगाउँला त २५ करोड अवैध विदेशी मुद्राको मालिक ? 

चैत्र ६, २०८१

ऋषिराम पौडेल

Will the revenue department find out the owner of 25 million illegal foreign currency?

काठमाडौँ — सोमबार राति रसुवा जान लागेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको विदेश मुद्रा बरामदको घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका जिम्मा राजस्व अनुसन्धान विभागलाई दिएको छ । तर के राजस्वले यतिका धेरै विदेश मुद्राको मालिक पत्ता लगाउँला ? विभागले उच्च अदालत पाटनबाट म्यादन लिएर विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा अनुसन्धान अघि बढाएको छ । 

यो प्रश्न किन पनि जरुरी छ भने यसअघि पनि यस्तै प्रकृतिका घटनामा राजस्व कार्यलयले मालिक पत्ता नलगाइकन अनुसन्धान टुंग्याएको छ । गत पुसकै घटना हेरौं । इमाडोलको एउटा गोदामबाट ८६ हजार थान भेप फेला पर्‍यो । अनि गोदाम कुरेर बसेका दुई जना पनि पक्राउ परे । तर यो घटनामा गोदम र भेपका मालिक को थिए भनेर पत्ता लाग्न सकेन् । कुनै शेर्पा थर गरेको व्यक्तिले राजस्व अनुसन्धान विभागमा २५ करोड धरौटी राखेपछि गत फागुनमा उनीहरु छुटे । गत पुसको पछिल्लो दुई सातामा मात्रै राजस्व छलेर नेपाल ल्याइएका १ लाख २० हजार थान भेप उत्तरी नाकाबाट र मधेश लैजाने क्रममा तराईका जिल्लाहरुबाट बरामद भएको थियो । यी घटनाहरुमा पनि यसको मुख्य व्यक्तिको पहिचान हुन सकेन । 

घटनाको यतिका महिना भइसक्दा पनि राजस्वले भेपको मालिक किटान गर्न सकेको छैन । राजस्वका एक अधिकारीले भने, ‘त्यो भेपको घटनाजस्तै यो घटनामा पनि मालिक पत्ता लगाउन सजिलो देखिन्न ।’ ति अधिकारीले तातोपानी र केरुङबाट तस्करीको सुन बोकेर आउँदा पक्राउ पर्नेमध्ये सबैजसो भरियष वा विचौलिया मात्रै भएको उदाहरण दिदै अवैध रकमको घटना पनि त्यस्तै प्रकृतीको भएको बताए । उनले नेपालीलाई प्रयोग गरेर चिनिँयाहरुले गर्ने अधिकांश अवैध धन्दामा यस्तै शैली देखिन्छ । 

अवैध रकम बरामदको घटनामा प्रहरीले अहिलेसम्म ट्रकका चालक ‘फुच्चे’ भनिने कुसाङ लामालाई मात्रै पक्राउ गरेको छ । अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले कुसाङको मोबाईलमा भएका विवरणबाट पनि मालिक भेटने कुनै ‘क्लु’ फेला नपरेको बताए । राजस्वका एक अधिकारीले यो घटनामा केही गम्भिर प्रश्नहरु उब्जिएको बताए । यतिका धेरै रकम कुन बस्तु वा सेवा कारोबार बापत भुक्तानी गर्न खोजिएको हो ? एकै पटक यति ठूलो परिमाणको रकम बरामद हुनुले यस अघि पनि मुलुकबाट विदेशी मुद्रा यसरी नै विदेशिने गरेको थियो ? भन्नेजस्ता प्रश्नको उत्तर अवैध विदेशी मुद्राको मालिक नभेटिएसम्म पत्ता लगाउन त्यति सजिलो नहुने बताए । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले कुनै न कुनै बस्तुको भुक्तानी दिनकै लागि उक्त रकम केरुङ पठाउन खोजिएको प्रारम्भिक अनुमान सुनाए । 

ठुलो परिणामको रकम भएकाले राजस्वका अधिकारीहरुले यो रकम अवैध सुन ओसारपसारकै घटनासँग जोडिएको हुनसक्ने बताए । पक्राउ परेको कुसाङ यसअघि पनि सुन तस्करीमै परेर छुटेको विगत भएकाले पनि अनुसन्धान अधिकारीहरुले यस्तो शंका गरेको देखिन्छ । 

प्रहरीसँगको प्रारम्भिक बयानमा भोटेकोशी गाउँपालिका–१ का चालक लामाले उनले केरुङ लैजाान लागेको रकम बारे अनविज्ञता जनाईरहेका छन् । जबकी रकमसहित नियन्त्रणमा लिइएको ना ७ ख १६५२ नम्बरको कन्टेनर उनकै आमाको नाममा किनिएको देखिन्छ । तीन सातासम्म ग्यारेजमा राखेर कन्टेनरमा फल्स बटम बनाउँदा पनि कुसाङलाई कसरी थाह भएन भनेर प्रश्नको उत्तर राजस्वले कसरी खोज्छ भन्ने जिज्ञासा उब्जिएको छ । 

चीनसँगको व्यापारिक नाका रसुवा भन्सार प्रमुख तुलसी प्रसाद भट्टराई आफ्नो कार्यकालमा तीन पटक सुन बरामद गरेको तर तीनै घटनामा मालिक पत्ता नलागेको बताए । ‘सुन ल्याउने कसैले पनि यथार्थ कुरा गर्दै गर्दैन । जति फकाउन खोजेपनि बरु मेरै हो भन्छ मालिक बताउँदैन,’ उनले भने, ‘सुन ल्याउनेहरु सीमा क्षेत्र आसपासका चालक, मजदुर वा साना व्यापारी हुने गरेको र उनीहरुलाई तस्करहरुले प्रयोग मात्र गर्दै आएको देखिन्छ ।’ भन्सार प्रमुख भट्टराई सुन वा भेप चोरी पैठारीको रकम भुक्तानीका लागि उक्त रकम उता लैजान खोजेको अनुमान सुनाउँछन् । 

राजस्वको अनुसन्धान प्रक्रिया आजैबाट सुरु : महानिर्देशक घिमिरे 

राजस्व अनुसनधान विभागले २५ करोड बरामद भएको घटनाको अनुसन्धान प्रक्रिया सुरु गरेको छ । प्रहरीले उक्त रकमसहित चालकलाई मंगलबार साँझ नै राजस्व विभागमा बुझाएको थियो । विभागका विभागका महानिर्देशक घिमिरेले अनुसन्धान प्रभावकारी बनाउन बुधबार विभिन्न निकायमा पत्राचार गरेर सहयोग माग गरिएको बताए । 

विभागका अनुसार रकमको मालिक पत्ता लगाउने र कुन प्रयोजनका लागि विदेशी मुद्रा केरुङ लैजान खोजिएको हो भन्नेमा अनुसन्धान केन्द्रीत हुनेछ । महानिर्देशक घिमिरेले भने, ‘तस्करीको जालो ठूलो र जटिल हुने भएकाले सवैखालका उपाय अपनाएर अनुसन्धान हुन्छ । यस्ता घटनामा पक्राउ परेका व्यक्तिले सही सूचना दिन आनाकानी गर्ने भएकाले सवैभन्दा धेरै समस्या हुने गरेको छ ।’

ऋषिराम

Link copied successfully