पोखरामा ‘वाडा अटो सो’ हुँदै

चैत्र ६, २०८१

दीपक परियार

Through 'Wada Auto So' in Pokhara

पोखरा — पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) को आयोजना चैत १४ देखि १७ सम्म पोखरामा ‘पहिलो वाडा अटो सो २०२५’ हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको प्रस्तुतिमा गण्डकी प्रदेशमै पहिलोपल्ट पोखराको अमरसिंहचौरमा अटो सो हुने भएको हो । 

बृहत् अटो प्रदर्शनीबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले गण्डकी प्रदेशलाई लक्ष्य गरी अटो सो आयोजना हुने बताए । सवारी साधन खरिद् बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुची बढिरहेकोले अटो सो आयोजना गर्न लागिएको उनको भनाइ थियो । 

‘नवीनतम सवारी साधनका मोडल, आधुनिक प्रविधि तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकै थलोमा प्रदर्शन हुनुका साथै स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेला हुनेछ,’ उनले भने, ‘यसले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरुको चिनारी गर्ने तथा त्यसका समाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकको विश्वास छ । 

अटो सोका संयोजक एवं वाडाका उपाध्यक्ष निरन केसीका अनुसार प्रदर्शनीमा १९ ब्रान्डका ४ पांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, ७ वटा ब्रान्डका २ पांग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य पार्ट पूर्जाका कम्पनी तथा वित्तीय संस्थाका २० स्टल रहने छन् ।

प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारीमूलक कार्यक्रम सञ्चालन हुने छन् । पोखरा लायन्स क्लबको सहयोगमा चैत १५ मा प्रदर्शनी परिसरभित्रै रक्तदान कार्यक्रम हुने छ । प्रदर्शनीमा ३५ हजार दर्शकले अवलोक गर्ने आयोजकको अनुमान छ । 

पोखरा भ्रमण वर्ष २०२५ घोषणा भएको अवस्थामा आन्तरिक पर्यटक भित्र्याउन प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेल्ने संयोजक केसीले बताए । ‘अटो सोमा भाग लिन पहिला काठमाडौं जानुपर्ने बाध्यता हटाएर मोफसलमा पहिलोपल्ट ल्याउन सफल भएका छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन पनि प्रदर्शनीले सहयोग पुर्‍याउने छ ।’ 

प्रदर्शनीमै नयाँ प्रविधि, बैंकिङ, बिमासम्बन्धी जानकारी दिइने र विशेष छुटको पनि व्यवस्था गरिएको उनले बताए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully