भारतीय मालवाहक रेल विराटनगर ल्याउने बाटो खुल्यो, तर किसानका पीडा उस्तै

चैत्र ६, २०८१

पर्वत पोर्तेल

The way to bring the Indian freight train to Biratnagar was opened, but the suffering of the farmers remained the same

विराटनगर — झन्डै १३ वर्षदेखि अवरुद्ध रहेको विराटनगर– कटहरी कार्गो रेलमार्ग निर्माण कार्य अन्ततः अघि बढ्ने संकेत देखिएको छ । सर्वोच्च अदालतले कटहरी–१ का केही किसानले दायर गरेको मुद्दा खारेज गरेपछि अब रेलमार्ग निर्माणको बाटो खुलेको हो ।

सर्वोच्च अदालतले गत असोज ७ मा खारेज गरेको मुद्दाको पूर्णपाठ केही साताअघि आएको छ । सरकारले २०६८ सालमै रेल स्टेसनका लागि अधिग्रहण गरेको १ सय १९ बिघा जग्गामध्ये ५ बिघाको मुआब्जा विवादकै कारण रोकिएको थियो । किसानहरूले मुआब्जा रकम अस्वीकार गर्दै पुनर्मूल्यांकनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर, अदालतले किसानको माग अस्वीकार गर्दै फैसला गरेपछि उनीहरू थप अन्योलमा परेका छन् ।

संघर्ष समितिका सचिव विश्वनाथ माझीले भने, ‘हाम्रो जग्गा प्रतिकट्ठा २ लाख रुपैयाँ मूल्यांकन गरियो । जबकि नजिकैको अरु जग्गाको चाहिँ १० लाख मूल्यांकन गरियो । यो हामी गरिब किसानमाथि गरिएको चरम विभेद र अन्याय हो ।’

मुआब्जा पुनर्मूल्यांकनका लागि किसानले बारम्बार सरकारसँग छलफल गरे पनि ठोस निर्णय आउन सकेन । सरकारले एकतर्फी रूपमा किसानको बैंक खातामा मुआब्जा रकम जम्मा गरे पनि उनीहरूले अझैसम्म उक्त रकम स्वीकारेका छैनन् । स्थानीय जग्गाको मूल्यांकन गर्दा हुलाकी राजमार्गभन्दा उत्तरपट्टि कम मूल्य तोकिएको थियो, जसका कारण धेरै किसानले अन्याय भएको बताएका थिए ।

रेलमार्ग निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदार कम्पनी इरकोन इन्टरनेसनलले अवरोधका कारण पटक–पटक काम रोकेको थियो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार सर्वोच्चले किसानको मुद्दा खारेज गरेपछि अब यो परियोजना चालु गर्न बाधा अवरोध छैन । ‘सबै कुरा टुंगियो । तर, काम भने अघि बढेको छैन । काम किन अघि नबढेको हो थाहा भएन,’ चौधरीले भने, ‘रेलमार्ग निर्माणका लागि केन्द्रीय तहबाटै पुनः एकपटक गम्भीर पहल गर्न जरुरी छ ।’

रेलमार्गका लागि स्थापना गरिएको कार्यालयका सामग्रीसमेत चोरी भइरहेका छन् । नेपाल–भारत संयुक्त भन्सार जाँच चौकीसम्म रेल सञ्चालन भइसके पनि मुख्य स्टेसन बन्न नसक्दा भारतबाट आउने सामान ढुवानी महँगो पर्न गएको उद्योगीको गुनासो छ । यो समस्या १३ वर्षदेखि लम्बिँदै आएको हो । यस्ता राष्ट्रिय महत्त्वका परियोजना समयमा पूरा हुन नसक्दा नेपालको पूर्वाधार विकासमा गम्भीर असर परेको छ ।

उद्योगी व्यवसायीको चासोलाई सम्बोधन गर्न तत्पर देखिए पनि सरकारले किसानको आवाज उपेक्षा गर्न ठीक नभएको पीडितहरू बताउँछन् । उचित मुआब्जा दिएर रेलमार्ग निर्माणलाई अगाडि बढाउन सरकारसँग किसानको माग छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully