सुनको मूल्यमा कीर्तिमान

मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय मूल्य

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Gold prices hit record highs

काठमाडौँ — सुनको मूल्यमा आन्तरिक र बाह्य दुवै बजारमा नयाँ कीर्तिमान कायम भएको छ । आन्तरिक बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार भएको दिनको तुलनामा आइतबार चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने सुनको मूल्य स्थिर रह्यो । तर मंगलबार एकैदिन तोलामा ११ सय रुपैयाँले सुनको मूल्य बढेको महासंघको तथ्यांक छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीति, रुस–युक्रेनको अस्थिर वार्ता र गाजामा बल्झिएको इजरायल–हमास युद्धलगायत विभिन्न कारणले आन्तरिक र बाह्य दुवै बजारमा सुनको मूल्य बढेको महासंघका महासचिव किरणभाइ बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय विविध कारणले सुनको मूल्य अझै बढ्न सक्ने उनको अनुमान छ । 

अहिले सुन आयातमा १० प्रतिशत भन्सार कर लाग्छ । चालु आर्थिक वर्षको बजेट भाषणमा भन्सार दर ५ प्रतिशत बढाएर २० प्रतिशत बनाइएको थियो । भन्सार दर बढेपछि तस्करी मौलाएको भन्दै सरकारले गत मंसिरमा फेरि घटाएर भारतकै सरह बनाएको थियो । भन्सार दर ५० प्रतिशत घटाएसँगै मंसिर १० मा एकैदिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ सस्तो भएको थियो । त्यसपछि बैंकले प्रिमियम चार्ज बढाउँदा सुनको मूल्य बढेको थियो । 

महासंघले ‘सुन बिक्रीवितरण कार्यविधि/निर्देशिका २०६८’ अनुसार मूल्य निर्धारण हुने गरेको जनाएको छ । कार्यविधिअनुसार आयातकर्ता (बैंकहरू) ले ०.५ र व्यवसायीले ०.५ प्रतिशत मुनाफा लिन पाउँछन् । त्यसपछि मूल्यमा प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) का रूपमा करिब ०.५ प्रतिशत जोडिन्छ । अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरका आधारमा पनि मूल्य निर्धारण गरिन्छ । प्रिमियम चार्जमा ०.५ प्रतिशत दिइन्थ्यो । खर्च घटेपछि प्रिमियम चार्ज पनि घटेर ०.३ प्रतिशत पुगेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन आएपछि खर्च फेरि बढेकाले फागुन १३ मा नयाँ सुन आयातमा बैंकले प्रिमियम चार्ज बढाएर ०.१० प्रतिशत पुर्‍याएका थिए । त्यसयता फेरि सुनको मूल्य बढ्न थालेको हो ।

नेपालमा जस्तै अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । गाजा युद्ध र अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा आकर्षित भएपछि मूल्यले अर्को कीर्तिमान बनाएको जानकार बताउँछन् । 

अन्तर्राष्ट्रिय बजारमा पनि मंगलबार सुनको मूल्य प्रतिऔंस 

३ हजार डलरभन्दा माथि पुगेको छ । प्रारम्भिक व्यापारमा स्पट सुनको मूल्य प्रतिऔंस ३ हजार २८ डलर पुगेको छ । गत शुक्रबार अमेरिकी समयअनुसार बिहान ९ बजेर ४ मिनेटमा सुरुवाती कारोबारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ४ डलरसम्म पुगेको थियो । 

मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१ डलरमा कारोबार भएको छ । इजरायल र हमासको युद्ध फेरि सुरु भएकाले पनि सुनको मूल्य बढाउन सहयोग गरेको जानकार बताउँछन् । इजरायल रक्षा बल (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै हमाससँग सम्बन्धित ‘आतंककारीलाई लक्षित गर्दै’ आक्रमण पुनः सुरु गरेको जनाएको छ । 

अमेरिकी प्रशासनले फेब्रुअरीमा स्टिल र आल्मुनियममा २५ प्रतिशत शुल्क, अप्रिल २ मा लगाइने भनिएको पारस्परिक र क्षेत्रगत शुल्कसहित करहरू लगाउने शृंखला जारी छ । गोल्डकोरका सीईओ डेभिड रसेलले चालु महिनाको अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ३ हजार १५० देखि ३ हजार २ सय अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् । ‘प्रतिऔंस ३ हजार ५० अमेरिकी डलरमा केही प्रतिरोध सामना गरिरहेकाले केही लगानीकर्ताले नाफा लिन सक्छन्, मूल्य स्थिर रहन पनि सक्छ,’ उनले भने, ‘उक्त अवरोध तोडियो भने मार्च अन्तिमसम्म प्रतिऔंस ३२ सय अमेरिकी डलरसम्म पुग्न सक्छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully