छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान सुरु, सिचुआन एयरको जहाजमा आए १ सय २८ चिनियाँ पर्यटक
पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पर्यटन व्यवसायीले सक्रियता देखाएका छन्। पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को सक्रियतामा चीनको सिचुआन एयरलाइन्सले मंगलबारदेखि छेङ्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको हो।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तका १ सय २८ यात्रु लिएर एयरबस ए३१९ जहाज पोखरा विमानस्थल ओर्लियो । पोखराबाट उक्त जहाज मंगलबार नै पोखराबाट १ सय २६ नेपाली यात्रु लिएर छेङ्दु पुगेको छ ।
परिषद्का कार्यवहाक अध्यक्ष बाबुराम पाण्डेका अनुसार सिचुआन प्रान्तबाट पर्यटक ल्याउन सिचुआन एयरलाइन्सले १० सातासम्मको तालिका बनाएको छ । छेङ्दुबाट पोखरा आउन १ हजार २ सय ५० चिनियाँ पर्यटक तयारी अवस्थामा छन् । साताको एउटा उडानमा ती पर्यटक पोखरा आउने छन।
पोखराबाट मंगलबारको सहित ३ वटा उडान तालिका बनेको छ । ‘पोखराबाट फर्किंदा तीनवटा उडान भर्ने जिम्मा लिए छेङ्दुबाट १० वटा उडानको ग्यारेन्टी गर्ने प्रस्ताव सिचुआन एयरलाइन्सबाट आएको थियो,’ उनले भने, ‘अहिले चार्टर नै भए पनि उडान गर्न सक्यौं भने भविष्यमा नियमित उडान होला भनेर प्रस्ताव स्विकार्यौं ।’ व्यवसायीले पोखराबाट छेङ्दु जाने प्रत्येक चार्टर उडानका लाग ७८ लाख रुपैयाँ बुझाउननुपर्ने उनले बताए ।
पोखराबाट छेङ्दु जाने टोलीको नेतृत्व महानगर प्रमुख धनराज आचार्यले गरेका छन्। उक्त टोलीमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् । नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ लिएर चीन गएको हो। टोलीले छेङ्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक तथा प्रवर्द्धनात्मक कार्यक्रममा सहभागिता जनाउने छ।
चीनको सिचुआन प्रान्तस्थित छेङ्दुबाट सिचुआन एयरलाइन्सको जहाजमा मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका चिनियाँ पर्यटक । तस्बिर : दीपक परियार/कान्तिपुर
छेङ्दु जान ७ रात ८ दिनको लागि १ लाख २६ हजार रुपैयाँको प्याकेज बनाइएको छ। पोखरा–छेङ्दु दुई तर्फी जहाज भाडा र चीनमा खाना तथा आवासमा उक्त प्याकेज लागु हुन्छ। व्यवसायीले उक्त रकम व्यहोरेर प्रवर्द्धनात्मक कार्यक्रम लिएर चीन पुगेका हुन् । बुधबार छेङ्दु र शनिबार चोङकिङमा हुने प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ का लागि पर्यटन बोर्डले सहयोग गरेको छ ।
मंगलबार पोखरा पर्यटन परिषद, महानगरपालिका, पर्यटन बोर्डको पहलमा छेङ्दु गएका नेपाली यात्रु एक सातापछि पोखरा फर्किनेछन् । मंगलबार पोखरा आएका चिनियाँ यात्रु पोखरा घुमेर उक्त जहाजमा छेङ्दु फर्किने छन् । चैत १९ मा पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको पहलमा व्यवसायीको टोली छेङ्दु जाने छ । वैशाख ३ मा पोखराका सामाजिक संघ संस्था, जनप्रतिनिधि, व्यवसायीको टोली छेङ्दु जाने छ ।
पाण्डेले चीनमा हुने एक साताको सेल्स मिसन अहिलेसम्मकै लामो समयको हुने बताए । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उनको विश्वास छ ।
चीनबाट आएको टोलीमा सिचुआन प्रान्तका सरकारी अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी छन् । उनीहरुलाई पोखरा विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतले स्वागत गरे । चिनियाँ पर्यटकलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै राजदूत सोङले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा पुगेको तीन महिनापछि पोखरामा पहिलोपल्ट नियमित उडान सुरु हुनु सुखद् रहेको बताए । ‘चीनको जुन स्पिड (गति) छ, यो नै नेपालको पनि स्पिड हो,’ उनले भने, ‘यसलाई सफल बनाउन यहाँका प्रधानमन्त्री धन्यवादका पात्र हुनुहुन्छ ।’ अन्य देशबाट पनि पोखरामा उडान आकर्षित गर्न विभिन्न हवाइ मार्ग छिट्टै खुलाउन नेपाल सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । उनले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको र पोखराले पनि भ्रमण वर्ष घोषणा गरेकोले सन् २०२५ विशेष रहेको बताए ।
चीनको सिचुआन प्रान्तस्थित छेङ्दुबाट सिचुआन एयरलाइन्सको जहाजमा मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका चिनियाँ पर्यटकलाई स्वागत गरिँदै । तस्बिर : दीपक परियार/कान्तिपुर
पोखरा महानगर प्रमुख आचार्यले हाल व्यावसायिक चार्टर उडान भए पनि भविष्यमा नियमित हरेक साता व्यावसायिक उडान हुनेमा आफू विश्वस्त रहेको बताए । ‘१० वटा उडानपछि पनि नियमित उडान भर्न सिचुआन एयरलाइन्स इच्छुक छ,’ उनले भने । प्राधिकरणका महानिर्देशक अधिकारीले पोखराबाट न्यारोबडी जहाज पूर्ण क्षमतामा आवतजावत गर्न सक्ने प्रमाणित भएको बताए ।
नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले पोखरा–छेङ्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्ने बताए । हवाइ सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र महानगरले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ २०२३ जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि चीन, भुटान र भारतमा गरी १२ वटा चार्टर उडान भएका थिए ।
