सहरी मन्त्रालयको पुँजीगत खर्च १७.४३ प्रतिशत मात्रै

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

The capital expenditure of urban ministry is only 17.43 percent

काठमाडौँ — सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको आठ महिनामा ११ अर्ब १२ करोड ४० लाख रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गर्दै साउनदेखि फागुनसम्म १७.४३ प्रतिशत पुँजीगत खर्च गरेको जानकारी दिएको हो ।

मन्त्रालयको पुँजीगत खर्चका लागि ६३ अर्ब ८३ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेकामा १ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खर्चेको जनाएको छ । 

चालू आर्थिक वर्षका लागि ३ हजार ७  सय १६ वटा नयाँ कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । नयाँ कार्यक्रममध्ये १ हजार  ६ सय २३ वटा कार्यक्रमको बोलपत्र आह्वानमध्ये १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भएको छ । त्यसमध्ये १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

'बोलपत्र आह्वान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रमहरू मध्ये २ सय ८८ वटा कार्यक्रमहरू बहुवर्षीय स्वीकृतिको लागि प्रस्तावित कार्यक्रमहरू हुन् भने ८० वटा कार्यक्रमहरू संशोधनको लागि प्रस्तावित कार्यक्रमहरू हुन्,' विज्ञप्तिमा उल्लेख छ, 'संशोधनको लागि प्रस्तावित ८० वटा कार्यक्रमहरू मध्ये ४४ वटा संशोधन भई आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियामा छन्। '

त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल, झापा स्थित दमक व्यापारिक कम्प्लेक्स, कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाट प्लाजा (पहिलो चरण) गरी दुई वटा पार्क निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

कान्तिपुर

Link copied successfully