सोमबार कारोबार सुरु भएको १५ मिनेटमै नेप्से करिब ३१ अंकले बढिसकेको थियो तर त्यो वृद्धि लामो समय टिकेन, त्यसपछि ओरालो लागेको नेप्से घटेरै बन्द भयो
काठमाडौँ — आइतबार करिब साढे २१ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घट्यो । अघिल्लो दिनको तुलनामा सोमबार नेप्से १०.५४ अंकले घट्दा २ हजार ७ सय ४.७० बिन्दुमा ओर्लिएको छ । यो ०.३७ प्रतिशतको गिरावट हो ।
बजार खुल्दा सामान्य सुधारको बाटो समाते पनि सोमबार पहिलो १५ मिनेटमा करिब ३१ अंकले बढिसकेको थियो । तर त्यो वृद्धि लामो समयसम्म टिकेन । त्यसपछि ओरालो लागेको नेप्से घटेरै बन्द भयो ।
आइतबार र सोमबार गरी नेप्से ३१ अंकले घटिसकेको छ । योसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा पनि संकुचन आएको छ । दुई दिनमा कुल बजार पुँजीकरण करिब ५२ अर्ब ७७ करोड रुपैयाँले घटेको छ । गत बिहीबार ४५ खर्ब ४३ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबार ४४ खर्ब ९१ अर्ब रुपैयाँ कायम भएको छ । यसले दुई दिनमा लगानीकर्ताको सम्पत्तिको मूल्य करिब पौने ५३ अर्ब रुपैयाँले घटेको देखिन्छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । यसकारण पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको मूल्यमा कमी आउनु हो । यही आधारमा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिएको हो ।
कारोबारमा आएकामध्ये ८७ कम्पनीको सेयरमूल्य सोमबार बढ्यो, १४४ वटाको घट्यो भने बाँकी १२ वटा कम्पनीको स्थिर रह्यो । ५७ हजार ५ सय ८५ पटकको कारोबारमा ९९ लाख ३५ हजार ८ सय ७२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार कारोबार रकम पनि घटेको हो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, बिकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्यको परिसूचक घटे । तर वित्त कम्पनी, होटल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढे । सामूहिक लगानी कोष उपसमूहको परिसूचक भने स्थिर रह्यो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केही दिन सेयर बजारमा सुधार देखिएको थियो । तर त्यो सुधार धेरै दिन टिकेन र बजार ओरालो लागिरहेको छ । ब्याजदर घटिरहेको, लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसकिरहेका बेला सेयर बजार बढ्न नसक्नुले लगानीकर्तालाई थप अन्योल बनाएको जानकार बताउँछन् । गत साता अन्तिम दिन (बिहीबार) बढेर बन्द भएको नेप्से यो साता आइतबारदेखि नै दोहोरो अंकले घटिरहेको छ ।
हाल वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७९.२९ प्रतिशत छ । बैंकहरूसँग अहिले पनि करिब पौने ६ खर्ब रुपैयाँ लगानीयोग्य (ऋण दिन मिल्ने) पुँजी रहेको तथ्यांकहरूले देखाएका छन् । यही कारण कर्जाको ब्याजदर पनि एकल अंकमा झरेको छ । बैंकहरूले सेयर कर्जाका लागि लगानीकर्तालाई आग्रह गरिरहेका छन, जसअनुसार सेयर कर्जा पनि बढिरहेको छ । यद्यपि सेयर कर्जा बढेअनुसार सेयर बजारले सुधारको लक्षण नदेखाएको विज्ञहरूको भनाइ छ ।
