काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गतको रकम कम्पनीको ब्रान्ड प्रवर्धन तथा बजार विस्तार गर्न, बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोगलगायतमा खर्च गर्न नपाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन ०८१’मा उक्त व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार सीएसआर अन्तरगतको रकम संस्थाको नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्याली तथा विज्ञापन जस्ता कार्यहरूमा गरिएको कार्यक्रम, संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च र व्यापार विस्तारको सर्त राखी भएका खर्चमा उपयोग गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
‘वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, वित्तीय स्थायित्व कायम गर्न र संस्थाहरू अविच्छिन्न रूपमा दीर्घकालसम्म सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले मानवीय, सामाजिक र बाह्य वातावरणको संरक्षणमा समेत योगदान पुर्याउन आवश्यक छ,’ निर्देशनमा जारी छ, ‘सामाजिक तथा बाह्य वातावरणलाई अझ स्वच्छ, समावेशी, दिगो बनाई भावी पुस्ताको लागि समेत बस्न योग्य तुल्याउने कर्तव्य बैंक तथा वित्तीय संस्थाको समेत हुन्छ ।’ तसर्थ बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने खर्च पारदर्शी, प्रभावकारी र उद्देश्यमूलक बनाउन र मुलुकको बृहत्तर हितमा त्यसको प्रयोग सुनिश्चित गर्ने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकको दाबी छ ।
यी हुन खर्च गर्न नपाइने क्षेत्र :
