बिहीबार दोहोरो अंकले बढेर नेप्से बन्द भएकाले आइतबारदेखि पनि नेप्से बढ्ने आसमा लगानीकर्ता थिए तर बजारले अपेक्षाविपरीत चाल देखायो
काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.६३ अंकले घटेको छ । गत बिहीबारको तुलनामा ०.७९ प्रतिशतले घटेपछि समग्र नेप्से दुई हजार सात सय १४.८५ अंकमा ओर्लिएको छ ।
अघिल्ला सात कारोबार दिन लगातार घटेर गत बिहीबार नेप्से १७.२८ अंकले बढेको थियो । बिहीबार दोहोरो अंकले बढेर नेप्से बन्द भएकाले लगानीकर्ता आइतबारदेखि पनि नेप्से बढ्ने आशामा थिए । तर बजारले अपेक्षाविपरीत चाल देखायो ।
उक्त दिन कारोबारमा आएकामध्ये ३२ कम्पनीको सेयरमूल्य बढ्यो, २०६ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रह्यो । ७९ हजार ३१ पटकको कारोबारमा १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार कारोबार रकम पनि घटेको हो । गत बिहीबार ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापारबाहेक सबैको परिसूचक घटेपछि आइतबार समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो । यस दिन व्यापार उपसमूहको परिसूचक ४.९२ प्रतिशतले बढ्दा विकास बैंकको २.२५ र लगानीको १.७२ प्रतिशतले घट्यो । वित्त कम्पनी, जलविद्युत्, जीवन बिमा र अन्य उपसमूहका परिसूचक एक प्रतिशतभन्दा धेरैले घटे । बाँकी बैंकिङ, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामूहिक लगानी कोष र निर्जीवन बिमा उपसमूहको परिसूचक एक प्रतिशतभन्दा कमले घटेको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक घटे पनि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि ४५ खर्ब ७ अर्ब रुपैयाँमा सीमित भएको छ । गत बिहीबारको तुलनामा यो झन्डै ३६ अर्बले कम हो । गत बिहीबार कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो । यसले एकै दिन लगानीकर्ताको सम्पत्तिको मूल्य करिब ३६ अर्ब रुपैयाँले घटेको भन्ने देखाउँछ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केही दिन सेयर बजारमा सुधार देखिएको थियो । तर त्यो सुधार धेरै दिन टिकेन र बजार ओरालो लागिरहेको छ । ब्याजदर घटिरहेको, लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसकिरहेको बेला सेयर बजार बढ्न नसक्नुले लगानीकर्तालाई थप अन्योल बनाएको जानकार बताउँछन् ।
