स्टार्टअप कर्जा : व्यावसायिक परियोजना प्रस्तुत गर्न छुटेकालाई चैत १२ भित्र सम्पर्क गर्न आग्रह

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Startup loan: Those who missed out on presenting their commercial project are requested to contact them within Chait 12

काठमाडौँ — औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि छनोट परेका उद्यमीहरुले व्यावसायिक परियोजना प्रस्तुतिका लागि आगामी चैत १२ भित्र सम्पर्क गर्न आग्रह गरेको छ । प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै आगामी चैत १३, १४ र १५ भित्र व्यवसायिक परियोजना प्रस्तुतिका लागि छुटेका प्रस्तावकलाई समय दिइने जनाएको छ ।

‘प्रस्तुतीकरण गर्न छुटेका प्रस्तावकहरुले आगामी चैत १२ भित्र प्रतिष्ठानको नम्बर वा इमेलमा सम्पर्क गरी नयाँ प्रस्तुतीकरणका मिति लिनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ, ‘तोकिएको मितिमा प्रस्तुतीकरण गर्न नआएमा अर्को मौका नदिने जानकारी गराइन्छ ।’ 

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवदेन परेकामध्ये पहिलो चरणका लागि १ हजार ३ सय १४ वटा परियोजना छानिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ मा सूचना सार्वजनिक गर्दै २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आहृवान गरेको थियो ।

त्यस बेला स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १ सय ५८ उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये एक हजार ३ सय १४ परियोजना दोस्रो चरणको मूल्यांकनका लागि छानिएका हुन् । छानिएका परियोजनाले पुस २८ देखि चैत ११ सम्म व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण गर्नेछन्  । फागुन मसान्तसम्म ८४८ जनाले व्यवसायिक प्रस्तुतीकरण गरिसकेकाे प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले बताए ।

Startup loan: Those who missed out on presenting their commercial project are requested to contact them within Chait 12

उद्यमीहरूले भौतिक र अनलाइनमार्फत गरी ५ हजार १ सय ५८ जनाले प्रस्ताव पेस गरेका थिए ।  ‘त्यसमध्ये १ हजार ३ सय १४ वटा छनोट भए ।  अहिले व्यवसायिक प्रस्तुतीकरण भइरहेको छ, प्रस्तुतीकरण सकिएपछि क्रेडिट अप्रेजल हेर्छौं र कर्जा प्रवाह गर्न योग्य सूची सार्वजनिक गर्छौं,’ उनले भने । चैतको तेस्रो सातासम्म कर्जा प्रवाह गर्ने गरी काम भइरहेको उनले जनाए । 

स्टार्टअप कर्जाका लागि उद्योग व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, वार्षिक कारोबार १५ करोडभन्दा बढी ननाघेको र सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेका मात्रै योग्य हुने कार्यविधिमा उल्लेख छ । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमहरूले मात्र यो कर्जा पाउनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully