बजेट छुट्याउँदा फ्रिज भयो, अहिले पैसा नहुँदा अलपत्र

कामको प्रगति १० प्रतिशत मात्र हुँदा ठेकेदार कम्पनीलाई एक करोड रुपैयाँ पेस्की र ५० लाख भुक्तानी

चैत्र ४, २०८१

अवधेशकुमार झा

It was frozen when the budget was allocated, now it is stuck due to lack of money

सप्तरी — मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष छँदा उनको विशेष योजना थियो, संग्रहालय निर्माण । गाउँपालिकाको वडा नम्बर–४ कोइलाडीस्थित आफ्नो घरभन्दा दुई सय मिटर पर वडा कार्यालय छेउमा उनले संग्रहालय निर्माणका लागि खाल्डो भएको जग्गामा माटो पुरेर संग्रहालय निर्माणको योजना बनाएका थिए । 

संग्रहालय, पुस्तकालय र सभाकक्ष निर्माणका लागि संघीय पर्यटन मन्त्रालयले बजेट उपलब्ध गराएको थियो । सोही आधारमा २ माघ २०७८ मा पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा र ओम साइराम कन्स्ट्रक्सन ललितपुरबीच संग्रहालय निर्माणका लागि ५ करोड ६८ लाख १८ हजारमा निर्माण सम्झौता भएको थियो । 

सम्झौता भएकै दिन पालिकाले निर्माण कम्पनीलाई कार्यादेशसमेत दिएको थियो । यसअनुसार २०८० पुस १५ भित्र उक्त संग्रहालय निर्माण सकिनुपर्ने थियो । तर एक पटक थपिएको म्याद सकिँदा पनि संग्रहालय निर्माणमा १० प्रतिशत मात्रै प्रगति भएको छ । खाल्डो पुरेर जग बसाउने काम मात्र भएको छ । लामो समयदेखि काम रोकिँदा उक्त योजना अलपत्र छ । 

संग्रहालय निर्माणको योजनामा अहिले पर्यटन मन्त्रालयबाट बजेट नै विनियोजन नभएपछि काम अलपत्र परेको तिलाठी कोइलाडी गाउँपालिकाका इन्जिनियर भाष्करकुमार सिंहले जनाए । कामको प्रगति १० प्रतिशत मात्र हुँदा ठेकेदार कम्पनीले एक करोड रुपैयाँ पेस्की र ५० लाख भुक्तानी पाइसकेको छ । यस योजनामा पर्यटन मन्त्रालयबाट आएको रकममध्ये ३ करोड ९३ लाख रुपैयाँ काम हुन नसकेपछि खर्च नभएर फ्रिज भएको पालिकाका योजना प्रमुख राजुकुमार झाले बताए । 

पछिल्ला दुई आर्थिक वर्षदेखि संग्रहालय निर्माणमा पर्यटन मन्त्रालयले बजेट विनियोजन नगर्दा काम अगाडि बढ्न नसकेको उनको भनाइ छ । निर्माण कम्पनीका प्रतिनिधि विजयकुमार दासले भने कामअनुसारको भुक्तानी पालिकाले दिन नसकेपछि काम रोकिएको दाबी गरे । ‘कामअनुसारको भुक्तानी दिनुपर्‍यो नि ?’ दासले भने, ‘काम गरेको बिल बनाएर पेस गरिएको छ । तर भुक्तानी भइरहेको छैन, कसरी काम अघि बढाउनु ?’ 

बजेट आएको बेला कार्यप्रगतिमा ध्यान दिन नसक्दा बजेट फ्रिज भएको तथा स्रोतको सुनिश्चतता नहुँदा काम अघि बढाउनुले संग्रहालयको योजना अलपत्र परेको हो ।

अवधेशकुमार

Link copied successfully