काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् ।
काठमाडौँमा सोमबार आयोजित ‘ग्लोबल मनी विक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए ।
उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटका अतिरिक्त वित्तीय समावेशितालाई एउटा महत्त्वपूर्ण एजेन्डाका रूपमा लिएको बताए । उनका अनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाता सक्रिय रूपमा चलुन् भन्ने मानसिकता राख्छ।
उनले केही सिक्दै गर्दा वा वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत परिवर्तन आउने बताए । वित्तीय हिसाबले सचेत हुँदा आचरणमा समेत सकारात्मक परिवर्तन हुने उनले थप उल्लेख गरे ।
उनले भने, ‘भोलिका दिनमा व्यक्तिगत रूपमा सुरक्षित बन्न सकिन्छ। स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ। यो त्यतिमा मात्र सीमित छैन, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरूले स्वच्छ बनाउन सघाउ पुर्याउँछन्। त्यसैले विद्यार्थी उमेरमै वित्तीय रूपमा जानकार हुनुपर्छ भन्ने सोचेर राष्ट्रले त्यससम्बन्धी शिक्षाका लागि प्रयास गर्दै आएको छ। यस शृङ्खलामा विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरता र समावेशिता राख्न खोजेका छौँ।’
गभर्नर अधिकारीले ‘घाँटी हेरेर हाड निल्नुपर्छ’ भनेझैँ आफ्नो क्षमता हेरेर खर्च गर्ने परिपाटीको विकास गर्नु आवश्यक रहेको बताए । वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्र बैंकले देशभर जागरण अभियान चलाइरहेको र यसलाई अझ व्यापक बनाउँदै लैजाने योजना रहेको उनको भनाइ छ।
