काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पहिलो चरणमा ५ जना छनोट भएका छन् । जसअनुसार चुडामणि चापागाईं, नारदकुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।
नेप्सेको सीईओ पदका लागि १० जनाले आवेदन दिएका थिए । पहिलो चरणको छनोटमा नपरेका पाँच जनामा युवराज दाहाल, प्रवीण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी छन् ।
नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले तीन साता छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन् ।
तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।
