जगदुल्लाको सिभिल र हाइड्रोमेकानिकलतर्फको १६ अर्ब रुपैयाँको आयोजनामा सिनो हाइड्रो, सिल/एचएचएच जेभी, जेसीई/एनके जेभी र टु एमजी/फेवा जेभीले आवेदन दिएका हुन् ।
काठमाडौँ — सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले पुनः आहृवान गरेको ठेक्कामा ४ कम्पनीले आवेदन दिएका छन् । सरकारले नै डोल्पामा बनाउन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का गत माघ ६ मा पुनः ठेक्का आहृवान गरेको थियो ।
जगदुल्लाको सिभिल र हाइड्रोमेकानिकलतर्फको १६ अर्ब रुपैयाँको आयोजनामा सिनो हाइड्रो, सिल/एचएचएच जेभी, जेसीई/एनके जेभी र टु एमजी/फेवा जेभीले आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीहरुको प्राविधिक मूल्यांकन गरेपछि आर्थिक प्रस्ताव खोलिने जगदुल्लाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।
‘प्राविधिक मूल्यांकन समिति छुट्टै छ, मूल्यांकनका लागि १५ दिन जति लाग्छ होला,’ उनले भने, ‘त्यसपछि आर्थिक प्रस्ताव खोलिन्छ ।’ प्राविधक र आर्थिक मूल्यांकनपछि मात्रै कम्पनी छनोट गरिने उनले जनाए ।
कम्पनीले गत जेठ २० मा सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आहृवान गरेको थियो । उक्त ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेसनल, पटेल इन्जिनियरिङ, लामा कन्स्ट्रक्सनलगायत सात कम्पनीले आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि पुस २२ मा ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी थियो ।
कम्पनीले आहृवान गरेको सूचनामा पछिल्ला १० वर्षमा कम्तीमा ३ वर्ष ३ करोड ४० लाख डलरको कारोबार गरेको हुनुपर्ने उल्लेख छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी)/प्लान्ट एउटा डिजाइनमा कम्तीमा एउटा ठेक्कामा ४ करोड डलरभन्दा बढीको काम गरेको अनुभव हुनुपर्ने सूचनामा भनिएको छ । यसअघि ठेक्का आहृवान गर्दा पछिल्ला १० वर्षमा कम्तीमा ३ वर्षमा ३ करोड ५० लाख डलरको कारोबार गरेको हुनुपर्ने उल्लेख थियो । इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी)/प्लान्ट एउटा डिजाइनमा कम्तीमा एउटा ठेक्का ४ करोड १० लाख डलरभन्दा बढीको काम गरेको अनुभव हुनुपर्ने व्यवस्था गरिएको थियो ।
जगदुल्लामा ऊर्जामन्त्री दीपक खड्काले आवेदन दिएका सबै कम्पनीलाई किनारा लगाएर हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीईलाई ठेक्का दिलाउने गरी मिलेमतोमा मध्यस्थता गरेको आरोप लागेको छ । १६ अर्बको ठेक्का पाउने कम्पनीले अरू चार कम्पनीलाई एक/एक प्रतिशतका दरले १५/१५ करोड दिने र मन्त्रीलाई दुई प्रतिशत दिने गरी लेनदेन भएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।
जगदुल्लाको कुल लागत २३ अर्ब रुपैयाँ अनुमानित गरिएको छ । उक्त आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाा ऋण लगानी गर्ने भएका छन् ।
