अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति, रुस–युक्रेन युद्धमा भइरहेको अस्थिर वार्तालगायतले सुनको मूल्य बढाएको सुनचाँदी व्यवसायी महासंघको दाबी
काठमाडौँ — सुनको मूल्य तोलामै पौने दुई लाख रुपैयाँ पुगेको छ । छापावाला सुनको मूल्य शुक्रबार तोलामै चार हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार सार्वजनिक बिदा भएकाले त्यतिमै कारोबार भयो ।
सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो । सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि मूल्यले अर्को कीर्तिमान बनाएको जानकार बताउँछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति, रुस–युक्रेन युद्धमा भइरहेको अस्थिर वार्तालगायत विभिन्न अन्तर्राष्ट्रिय कारण नेपालमा सुनको मूल्य बढेको महासंघका महासचिव किरणभाइ बज्राचार्यले बताए ।
‘ट्रम्पले विदेशी वस्तु आयातमा भन्सार दर बढाइरहेका छन्, रुस–युक्रेन युद्धमा पनि ट्रम्पको भूमिका नकारात्मक छ,’ उनले भने, ‘यस्तै विभिन्न कारणले सुनको मूल्य बढाउन सघाइरहेका छन् । मूल्य अझै मूल्य बढ्न सक्छ ।’ सुन विदेशबाट आयात गर्नुपर्ने र लगानीका लागि सुरक्षित पनि देखिएकाले यसको कारोबारमा सबैको होडबाजी रहेको उनको भनाइ छ । चीनलगायत विभिन्न मुलुकले सुन आयात गरेर मौज्दात गरिरहेको समेत जानकारीमा आएको बज्राचार्यले सुनाए ।
आन्तरिक बजारमा मात्र नभई शुक्रबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पहिलो पटक सुनको मूल्य प्रतिऔंस ३ हजार डलर नाघेको रोयटर्सले जनाएको छ । ट्रम्पको कर युद्धका कारण उत्पन्न आर्थिक अनिश्चितताबाट बच्न लगानीकर्ता सुरक्षित मानिएको सुन बजारमा झुम्मिँदा मूल्यले कीर्तिमान बनाएको रोयटर्सको भनाइ छ । सुनको ‘स्पट’ मूल्य शुक्रबार प्रतिऔंस ३००४.८६ डलर पुगेको र यो सन् २०२५ को तेह्रौं उच्चतम मूल्य रहेको इकोनमिक्स टाइम्समा उल्लेख छ ।
सन् २०२४ मा २७ प्रतिशतले बढेको सुनको मूल्य यस वर्ष पहिले नै १४ प्रतिशतले बढेको इकोनमिक्स टाइम्सले जनाएको छ ।सुनको स्पट मूल्यले हालको दरलाई जनाउँछ भने पहेंलो धातु तोकिएको स्थान र समयमा खरिद वा बेच्न सकिनेछ ।
‘केन्द्रीय बैंकले निरन्तर सुन खरिदसँगै यसको माग बढाउने धेरै कारण छन् । भूराजनीतिक अनिश्चितता र निरन्तर करको दरमा भइरहेको परिवर्तनले अझै पनि सुनको माग र मूल्य बढ्नेछ,’ विश्लेषक सुकी कुपरले इकोनमिक्स टाइम्ससँग भनेका छन् । ट्रम्पको संरक्षणवादी कर नीतिले विश्व बजारलाई हल्लाइरहेका बेला चीन र क्यानडाले पनि द्रुत प्रतिक्रिया दिन थालेको जनाइएको छ ।
अप्रत्याशित राजनीतिक जोखिममा इक्विटी बजार बिक्री भइरहेको र पश्चिमी लगानीकर्ताले सुनमा फाइदा देख्न थालेको स्प्रोट एसेट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन चियाम्पाग्लियाले बताए । ‘हामीले पश्चिमा लगानीकर्ताहरू सुनमा फिर्ता भएको देख्न थालेका छौं, जसले गर्दा सुनको मूल्यलाई धेरै माथिसम्म पुर्याउन सक्छ,’ जोनले भनेका छन् ।
ट्रम्पको नीतिका कारण सेयर बजारमा उथलपुथल भएपछि सुरक्षित सम्पत्ति खोजिरहेका समस्याग्र्रस्त लगानीकर्ता सुनमा लागेका कारण प्रतिऔंस ३ हजार डलर कीर्तिमान कायम भएको धातु व्यवसायी ताई वाङले बताएको रोयटर्समा उल्लेख छ । परम्परागत रूपमा भूराजनीतिक उथलपुथलको समयमा मूल्यको सुरक्षित भण्डारका रूपमा सुनलाई हेरिँदै आएको छ । ट्रम्पको कर नीति र सेयर बजारमा बिक्रीको तनावले गर्दा पनि सुनको मूल्य बढेको रोयटर्सले जनाएको छ ।
नेपालमा २०८१ कात्तिक १५ मा पनि सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । २०८१ फागुन १३ मा १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको महासंघको तथ्यांक छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ५० रुपैयाँमा कारोबार भएको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम भएको सुनविज्ञ तेजरत्न शाक्यले बताए । महासंघले शुक्रबार सुनको मूल्य तय गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस मूल्य २ हजार ९ सय ९१ डलर थियो । ‘बुधबार २ हजार ९ सय १३ डलर थियो, शुक्रबार एकै दिन ७८ डलरले बढ्यो,’ उनले भने । अमेरिकी समयअनुसार शुक्रबार बिहान ९ बजेर ४ मिनेटमा सुरुवाती कारोबारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ४ डलरसम्म पुगेको थियो ।
अमेरिकी युक्रेन–रुस युद्ध एक महिना रोक्ने सहमति भए पनि रुसले आनाकानी गरेकाले आर्थिक क्षेत्रमा त्यसको नकारात्मक प्रभाव परेको शाक्यले जनाए । ‘सुनको मूल्य अझै बढ्छ, नेपालमा छिट्टै प्रतितोला दुई लाख रुपैयाँ पुग्दैन भन्न सकिँदैन,’ उनले भने, ‘पछिल्लो अनुमान प्रतिऔंस ३ हजार ५ सय डलर पुग्ने भइरहेको छ ।’ क्यानडा, मेक्सिकोदेखि धेरै मुलुक ट्रम्पको कर नीतिबाट चिन्तित रहेको र भन्सार कर नीतिकै कारण सुनको मूल्य बढेको उनले सुनाए ।
