काठमाडौँ — अर्बपति इलन मस्कको विद्युतीय कार निर्माता कम्पनी ‘टेस्ला’ले अमेरिकी सरकारलाई पत्र लेखेर ट्रम्पका व्यापार महशुलहरूले कार उद्योगमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकै दक्षता विभाग हाँकिरहेका मस्कको कम्पनीले यस्तो पत्र लेख्नुलाई रोचक मानिएको छ ।
बीबीसीका अनुसार कसैको हस्ताक्षर नभएको उक्त पत्रमा टेस्लाले न्यायोचित व्यापार नीतिको पक्षमा कम्पनी रहेपनि अन्य देशहरूले प्रतिशोधस्वरूप अमेरिकी उत्पादनमाथि शुल्क लगाए, त्यसले अमेरिकी निर्यातकर्ताहरूलाई निकै ठूलो असर पुग्ने उल्लेख गरेको छ । टेस्लाअन्तर्गत कसले सो पत्र लेख्यो भन्ने जानकारी दिइएको छैन ।
ट्रम्पका राजनीतिक सहयोगीका रूपमा मस्कले संघीय कर्मचारीको आकार घटाउने र व्यापारिक सुधारका पक्षमा आवाज उठाउँदै आएका छन् । तर, अब उनले आफूलाई र आफ्नो कम्पनीलाई ट्रम्पका व्यापार नीतिहरूबाट हुने सम्भावित कठिनाइबाट जोगाउन चाहेको देखिन्छ ।
पछिल्ला दिनमा टेस्लाको सेयर मूल्य निरन्तर घटिरहेको र उपभोक्ताले आफ्ना टेस्ला गाडीलाई अन्य ब्रान्डको स्टिकर टाँसेर छोप्ने, टेस्ला शोरुमअगाडि विरोध प्रदर्शन गर्न थालेपछि केही दिनअघि मात्रै मस्कको समर्थनका लागि राष्ट्रपति ट्रम्प आफैंले नयाँ टेस्ला किनेका थिए । अमेरिकालाई महान बनाउन प्रयत्न गरिरहेका मस्कजस्ता होनहार व्यक्तिलाई हानी पुर्याउने नियतले कट्टर वामपन्थीहरूले विरोध गरेको आरोप लगाउँदै ट्रम्पले नयाँ टेस्ला किन्ने घोषणा गरेकै दिन टेस्लाले भने ट्रम्पलाई सो पत्र पठाएको थियो ।
यस वर्षको सुरुदेखि यता टेस्लाको सेयर मूल्य ४० प्रतिशतले घटेको छ । ट्रम्प प्रशासनसँग मस्कको सम्बन्धकै कारण कम्पनीको बजार र ब्रान्ड भ्यालुमा नोक्सानी भइरहेको कतिपयको बुझाइ छ । बजार विश्लेषकहरूले भने उत्पादन लक्ष्य पूरा गर्न सक्नेमा खरिदकर्तामाझ रहेको संशय र गत वर्षको बिक्रीमा आएको गिरावट नै टेस्लाको सेयर मूल्य निरन्तर खस्किँदै जानुको मुख्य कारण भएको जनाएका छन् ।
ट्रम्पका करसम्बन्धी आर्थिक नीतिहरूले पनि लगानीकर्तालाई चिन्तित बनाएको छ । ट्रम्पले चिनियाँ आयातहरूमा थप २० प्रतिशत भन्सार शुल्क लगाएका छन् । प्रतिशोधस्वरूप बेइजिङले पनि केही वस्तुहरूमा शुल्क लगाउने निर्णय गरेको छ र त्यसमा कारहरू पनि पर्छन् । चीन टेस्लाको अमेरिकापछि दोस्रो ठूलो बजार हो ।
पत्रमा टेस्लाले आफ्नो आपूर्ति श्रृंखलामा परिवर्तन गर्दै स्थानीय आपूर्तिकर्ताहरू खोजी गरिरहेको उल्लेख गरेको छ । कार र ब्याट्रीका लागि विदेशी बजारहरूमा निर्भरता कम गर्न यस्तो रणनीति अपनाउन लागेको कम्पनीको ठहर छ । ‘तर आपूर्ति श्रृंखलालाई आक्रामक रूपले अमेरिकामै सीमित राख्दा पनि कार निर्माणलाई आवश्यक पर्ने केही सामान र उपकरणहरू अमेरिकीभित्रै पाउन गाह्रो वा असम्भव छ,’ पत्रमा भनिएको छ ।
