बाढीले क्षतिग्रस्त मान्डु हाइड्रोको पुनर्निर्माण अन्तिम चरणमा

फाल्गुन २९, २०८१

प्रताप विष्ट

Reconstruction of flood-damaged Mandu Hydro in final stages

हेटौंडा — गत असोज ११ र १२ को अविरल वर्षाले बागमतीमा आएको बाढीबाट क्षतिग्रस्त मान्डु हाइड्रोपावरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । हाइड्रोपावरको पुनर्निर्माण ७७ प्रतिशत सकिसकेको आयोजनाले जनाएको छ । 

आगामी चैत अन्तिम सातासम्म विद्युत् पुनः उत्पादन गर्ने योजना रहेको आयोजनाको भनाइ छ । हाइड्रोपावरमा प्राविधिक र कामदार गरेर सयभन्दा बढी जनशक्ति दुई महिनादेखि काममा खटिएको बताइएको छ ।

क्षतिग्रस्त पावर हाउसको रेक्टोफिटिङ सकिइसकेको छ । पावरहाउसभित्र उपकरण जडान कार्य तीव्र गतिमा भइरहेको छ । पेनस्टक पाइपको मर्मत एवं सुरुङमा पसेको बालुवा र लेदो निकाल्ने काम पनि अन्तिम चरणमा पुगेको मान्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले जनाए । ‘बागमतीको क्षतिग्रस्त बाँधको मर्मत सकिइसकेको छ,’ उनले भने, ‘बिहान उज्यालो भएदेखि अबेर रातिसम्म मर्मत गरिरहेका छौं ।’ 

पहिरोले मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८ बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको मान्डु हाइड्रोपावरको हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र विद्युत्को टावर क्षतिग्रस्त बनाएको थियो ।

२०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरमा बागमतीको बाढीले एक अर्बभन्दा बढीको क्षति पुर्‍याएको प्रमुख सञ्चालन अधिकृत सुन्दर श्रेष्ठले बताए । ‘बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पुर्‍यायो, त्यसको मर्मत अन्तिम चरणमा पुगेको छ,’ उनले भने । सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक बाढीले क्षतविक्षत बनाएको थियो । 

आयोजनाले सडक मर्मत गरेर आयोजनास्थलसम्म पुग्ने बाटो खोलिसकेको छ । बाढीले ६०० मिटर पेनस्टकमध्ये सय मिटर पाइप क्षतिग्रस्त बनाएको थियो । ‘पेनस्टक पाइपको काम पनि सकिइसकेको छ,’ प्राविधिक सिंहले भने, ‘२ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङमा बालुवा र लेदो पसेर क्षति पुर्‍याएको थियो । बालुवा र लेदो झिक्ने काम पनि सकिइसकेको छ ।’

बागमतीको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापञ्चकन्याको बगरबेसीस्थित विद्यृत् गृहबाट बिजुली उत्पादन गरिँदै आएको थियो । निजी क्षेत्रको मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ कम्पनीको संयुक्त लगानीमा बागमतीको पानीबाट विद्युत् उत्पादन गरिएको थियो । 

बागमतीमा निर्मित ५५ मिटर लामो बाँधलाई पनि बाढीले क्षति पुर्‍याएको थियो । यसको पनि पुनर्निर्माण सकिइसकेको छ । उक्त बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्छ । बागमतीमा निर्मित बाँधबाट पावरहाउस (विद्युत् गृह) २ हजार ४ सय ४० मिटर दूरीमा छ । नेपाली प्राविधिक र नेपाली मजदुरबाट उक्त हाइड्रोपावरको सुरुङ खन्ने, बाँध निर्माण, पेनस्टक पाइप जडान गर्ने स्थल निर्माण गरिएको थियो । अहिले मर्मत कार्य पनि नेपाली प्राविधिक र कामदारले गरिरहेको आयोजनाले जनाएको छ । 

मान्डु हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको थियो ।

प्रताप

Link copied successfully