संकटनजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Telecom sector in crisis, focus on protection through reforms

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्र संकटनजिक पुगेकोले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरूले जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौँमा आयोजना गरेको 'रिभाइटलाइजिङ द टेलिकम इन्डस्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाहरूले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दूरसञ्चार विज्ञ मनोहरकुमार भट्टराईले डिजिटल अर्थतन्त्र संवर्द्धनका लागि मोबाइल उद्योग आधारभूत माध्यम भएको बताए । पछिल्लो केही समय टेलिकम क्षेत्रको योगदान ३.६ प्रतिशतबाट १.८ प्रतिशतमा झरेको तथ्यांक उनले प्रस्तुत गरे । देशभर ९० प्रतिशत जनसङ्ख्यामा फोर जी कभरेज भए पनि १० जना प्रयोगकर्तामा २ जनाले मात्रै नियमित डेटा उपयोग गर्ने गरेको उनले बताए । नेपालको मोबाइल इन्टरनेट प्रयोग अरू छिमेकी देशहरूको तुलनामा धेरै नै कमजोर रहेको उनको भनाइ थियो । 

फोर जीको प्रयोग बढ्दै जाँदा अपरेटरहरूले आफ्नो अस्तित्व जोगाउन ठूलो लगानी गर्न थाले पनि सोहीअनुसार प्रतिफल नआउँदा सेवा प्रदायकहरूको व्यापारमा ह्रास देखिन थालेको भट्टराईले बताए । दूरसञ्चार क्षेत्रमा पुन: लगानी बढी हुने भएकाले पनि आम्दानीमा दबाब परेको उनको भनाइ थियो । सेवा प्रदायकहरूलाई आफ्नो सेवा सहज सञ्चालन गर्न मात्रै वार्षिक ६ अर्ब रुपैयाँ चाहिने भएकाले आम्दानी निरन्तर घट्नुले अवस्था सुखद नदेखिएको उनको धारणा थियो । 

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपालको दूरसञ्चार क्षेत्र ठूलो संकटको नजिक  आइपुगेको भन्दै सबै सचेत हुनुपर्ने अपिल गरे । मोबाइल कनेक्टिभिटी इन्डेक्समा दुई वर्षअघि ११७ स्थानमा रहेको नेपाल अहिले ११९ औं श्रेणीमा झरेकोमा उनले चिन्ता व्यक्त गरे । दूरसञ्चार क्षेत्रमा सहज वातावरण नहुँदा विदेशी लगानी आकर्षित हुन नसकेको उनको भनाइ थियो । 

नेपालको दूरसञ्चार क्षेत्रको व्यापार निरन्तर ओरालो लाग्दै गएकाले यसबाट सरकारलाई जाने करको दर पनि निरन्तर घटिरहेकोले यस्तो अवस्थामा सबै गम्भिर हुनुपर्ने उनले बताए । कायुमोभले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका सेवा प्रदायकहरूलाई सहजीकरणमा बढी केन्द्रित हुनुपर्नेमा राजस्व संकलनमा बढी ध्यान दिएकोमा चिन्ता व्यक्त गरे । फोर जी विस्तारमा अपरेटरहरूले ठूलो लगानी गरिसकेको अवस्थामा फाभइ जीका लागि राज्यले स्पेक्ट्रमको बोलकबोल अघि बढाए सहभागी हुन तयार रहे पनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता हुनुपर्ने उनको भनाइ थियो । उनले सन् २०२५ भित्रै एनसेलले थ्री जी सेवा बन्द गर्ने तयारी गरिरहेको र यसका लागि सरकारले भीओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाइ गर्नुपर्ने बताए । यसका साथै अब नेपालको टेलिकम व्यापार सब्स्क्रिप्सन मोडलमा लैजान ढिलो गर्न नहुने उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले देशभर फोर जीको कभरेज शतप्रतिशत नपुगेको अवस्थामा त्यसलाई वर्ष दिनभित्र पूरा गर्ने बताए । उपभोक्ताको क्षमताअनुसार तत्काल टु जी बन्द गर्नुभन्दा सुरुमा थ्री जी बन्द गर्नु उपयुक्त हुने उनको धारणा थियो । पछिल्लो समय दूरसञ्चार सेवाको गुणस्तर निरन्तर घट्दै गएको बताउँदै भण्डारीले त्यसमा सुधार आवश्यक रहेको बताए । दूरसञ्चार सेवाको आकार घट्यो भन्नु गलत भएको भन्दै टेलिकमबाट आईएसपीमा व्यापार सिफ्ट भएको उनको तर्क थियो । दूरसञ्चार क्षेत्रमा नयाँ लगानी न्यून बन्दै गएको अवस्थामा व्यापार बढाउने उपायहरूमा ध्यान केन्द्रित हुनुपर्ने उनको सुझाव थियो । फाइभ जी देशका मुख्य ८ सहरमा सुरु गर्न सकिने भन्दै भण्डारीले ज्यादै प्रविधि महँगो छ भन्नुमा सत्यता नरहेको तर्क गरे । 

फाइभ जीका लागि अपरेटरहरूले निवेदन दिए एक हप्ताभित्र स्वीकृति दिन प्राधिकरण तयार रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । वाइफाई मोबिलिटीले दूरसञ्चार अपरेटरहरूको आम्दानीमा असर परिरहेको गुनासो सम्बन्धमा छलफल आवश्यक रहेको उनको भनाइ थियो । दूरसञ्चार कम्पनीको कुल आम्दानीको ४८ प्रतिशत राज्यलाई विभिन्न शीर्षकमा कर जाने अवस्थाको अन्त्य हुन जरुरी रहेको पनि उनले बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित र चुनौतीबाट पार लगाउन आवश्यक रहेको बताए । मन्त्री गुरुङले दूरसञ्चार अपरेटरहरूलाई नयाँ शैलीसहित काम गर्न सुझाव दिए । घट्दो आम्दानीको समस्या समाधान गर्न टेलिकम कम्पनीहरूमा नयाँ शैली आवश्यक रहेको औँल्याउँदै मन्त्री गुरुङले कानुन सुधारमा सरकार गम्भीर रहेको बताए । नियमिक भूमिका पर्याप्त नपुगेको स्विकार्दै उनले नयाँ दूरसञ्चार ऐनको मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिए । अनुमति पत्र शुल्क, नयाँ प्रविधिलगायतका विषयलाई समेटेर समयसापेक्ष बनाउने गरी नयाँ कानुनको मस्यौदा निर्माण गर्ने काम भइरहेको पनि उनले बताए । नियमक निकाय दूरसञ्चार प्राधिकरणलाई पक्षपाती नभएर नियमनको काम गर्न उनले सो क्रममा निर्देशन दिए । 

सञ्चार सचिव राधिका अर्यालले टेलिकम कम्पनीहरूको वित्तीय अवस्था बिग्रँदै गएको अवस्थाले चिन्ता थपिएको बताइन् । नियमन, कार्यान्वयन र योजना तर्जुमा गर्ने सबै निकाय एकै ठाउँमा बसेर निकास दिनुपर्ने बेला आएको उनको भनाइ थियो । कानुनलाई हुबहु कार्यान्वयन गर्न उनले सबै सेवा प्रदायकलाई आग्रह गरिन् । कुनै समय ६ वटा दूरसञ्चार सेवा प्रदायक अस्तित्वमा रहेकोमा अहिले २ वटामा झर्नुले यस क्षेत्रलाई थप जोखिमपूर्ण बनाएको उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully