थ्रीजी सेवा बन्द गर्ने तयारीमा एनसेल 

थ्री जी बन्द गरेर त्यसको प्रभाव मूल्यांकनपछि मात्रै टु जी बन्द गर्ने विषयमा अघि बढ्नु उपयुक्त हुने प्राधिकरणको ठहर

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Ncell preparing to shut down 3G service

काठमाडौँ — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सन् २०२५ को अन्त्यसम्ममा आफ्नो थ्री जी सेवा बन्द गर्ने तयारी गरेको छ ।

भारतलगायत विश्वका कतिपय देशमा फाइभ जी सेवाको तीव्र बिस्तार र अमेरिका, अस्ट्रेलियाजस्ता देशले थ्री जी सेवा नै बन्द गरिसकेको परिप्रेक्षमा एनसेलले पनि सन् २०१० यता सञ्चालनमा रहेको सो सेवा बन्द गर्न लागेको एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले बताएका हुन् । एनसेलले सन् २०१७ यता नेपालमा फोर जी सेवा सञ्चालन गर्दै आएको थियो। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको 'रिभाइटलाइजिङ द टेलिकम इन्डस्ट्री’ विषयक कार्यक्रममा बोल्दै कायुमोभले भीओएलटीई प्रविधि नचल्ने फोनको आयातमा सरकारले कडाइ गर्नुपर्ने बताए । कयौँ देशले टु जी बन्द गरिसकेको उल्लेख गर्दै उनले हामी यसमा पछाडी परिसकेको धारणा राखे ।  

पछिल्लो समय नेपालमा टु जी सेवाको प्रयोग गर्नेहरू बढिरहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँछ । गत वैशाखमा १४ लाख ७१ हजारले टुजी चलाउने गरेकामा माघमा आइपुग्दा देशभर ३२ लाख ६५ हजारभन्दा धेरैले यस्तो सेवा लिएको प्राधिकरणले जनाएको छ ।

थ्री जी प्रयोगकर्ताको संख्या भने पछिल्ला महिनामा स्थिर देखिएको छ । कात्तिकयता नेपालमा थ्रीजी प्रयोगकर्ताको संख्या ९/१० लाख हाराहारी रहँदै आएको छ । गत वैशाखमा भने झन्डै ७२ लाख थ्रीजी प्रयोगकर्ता रहेकामा असोजमा स्वाट्टै घटेर ४ लाख २० हजारमा सीमित भएको प्राधिकरणको तथ्यांक छ । त्यसयता थ्रीजी प्रयोगकर्ताको संख्या उल्लेख्य बढ्न सकेको छैन । 

कार्यक्रममा प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले तत्काल टु जी बन्द गर्नुभन्दा सुरुमा थ्री जी बन्द गर्न उपयुक्त हुने धारणा राखे । 'थ्री जी बन्द गरेर त्यसको प्रभाव मूल्यांकनपछि मात्रै टु जी बन्द गर्ने विषयमा अघि बढ्नु उपयुक्त होला,' उनले भने, 'अहिले ३३ लाख प्रयोगकर्ताले टु जी चलाउने भएकाले सटडाउन गरिहाल्न मिल्दैन ।' 

कान्तिपुर

Link copied successfully