उखु नपाएपछि सिजनअगावै मिल बन्द

एक सिजनमा २० देखि २५ लाख क्विन्टलसम्म क्रसिङको लक्ष्य लिएको रौतहटको चिनी मिलले यो सिजनमा १३ लाख क्विन्टल मात्र क्रसिङ गरेको छ

फाल्गुन २८, २०८१

शिव पुरी

Due to lack of sugarcane, the mill was closed before the season

रौतहट — उखु नपाएपछि सिजनअघि नै चिनी मिलले क्रसिङ बन्द गरेको छ । कटहरिया नगरपालिका–९ को बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिजले सिजनमै उखु अभाव भएपछि मंगलबारदेखि क्रसिङ बन्द गरेको हो । चैत मसान्तसम्म उखु क्रसिङ गर्न मिल्छ । 

एक सिजनमा २० देखि २५ लाख क्विन्टलसम्म क्रसिङको लक्ष्य लिएको मिलले यो सिजनमा १३ लाख क्विन्टलमात्र क्रसिङ गरेको छ । बर्सेनि उखुको अभाव झेल्दै आएको र यसपटक समयअगावै मिल बन्द गर्नुपरेको मिल सञ्चालक बाबा बैजुनाथ बाबराले बताए ।

‘अहिले धमाधम उखु पेलेर चिनी उत्पादन गर्नुपर्ने बेला हो, तर एक महिनाअघि नै मिल बन्द गर्नुपर्‍यो,’ उनले भने, ‘मिल सञ्चालन भएको ७ वर्षमा पनि लक्ष्यअनुसार उखु पाउन सकेको छैन । मिल बर्सेनि घाटामा चलाउनुपरेको छ ।’ 

फागुन–चैतमा उखु छिप्पिएर चिनीको मात्रा बढ्छ । यही समयमा उखु पाउन छाडेको सञ्चालक बाबराले बताए । उनका अनुसार पुसमा क्रसिङ थालेको मिलले सुरुमा एक क्विन्टल उखुमा ५ किलो मात्र चिनी उत्पादन गर्थ्यो । ‘फागुन/चैतमा उखु छिप्पिएर ८/१० किलोसम्म चिनी निस्कन्छ । चिनी उत्पादन बढ्ने बेला मिल बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

तीन दशकअघिसम्म जिल्लामा १६ हजार किसानले उखु खेती गरेका थिए । त्यसबेला गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल मात्र सञ्चालनमा थियो । गोल्छा समूहको स्वामित्वमा रहेको उक्त मिल २०४९ मा शिल्यान्यास भई २०५१ देखि उखु क्रसिङ थालेको हो । मिलले एक सिजनमा बारा, पर्सा, रौतहटका किसानका ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्थ्यो । करोडौंको घाटा भएको भन्दै व्यवस्थापन पक्षले २०७७ साउन १० देखि मिल बन्द गर्‍यो । 

२६ वर्ष निरन्तर सञ्चालनमा रहेको चिनी मिल बन्द हुँदा सिजनल, रेगुलर र करार गरी ३ सय २५ जना कर्मचारी तथा मजदुरको रोजगारी गुम्यो । त्यसपछि किसानले उखु लगाउन छाडे । किसानको संख्या घटेर ८ हजार हाराहारीमा आएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । ‘जिल्लाकै ठूलो मिल बन्द भएपछि उखु खेतीप्रतिको लगाव कम भयो,’ उनले भने, ‘उखुको मूल्य, भुक्तानी समस्या झेलेका किसानले बिस्तारै उखु लगाउन छाडे । अहिले मुस्किलले ८ हजार किसानले खेती गरेका होलान् । यो संख्या पनि घट्ने अवस्था छ ।’

अहिले जिल्लामा बाबा बैजुनाथ मिल मात्र सञ्चालनमा रहेको र उक्त मिललाई पनि पुग्ने उखु नभएको अध्यक्ष यादवले सुनाए । पछिल्लो समय बाबा बैजनाथ चिनी मिलले उखुको चलान र भुक्तानीमा सहज बनाउँदै लगे पनि उखु किसान उत्साहित छैनन् । मिलले उखु काट्नेदेखि ढुवानीसम्मको सुविधा भएको केन हार्वेस्टर (आधुनिक मेसिन) खरिद गरेर किसानलाई जिम्मा दिइसकेको छ । तर पनि उखु लगाउने किसानको संख्या बढेको छैन ।

उखु बिक्री गरेको साता र १५ दिनमा भुक्तानी दिने, चलानमा सहजता र उखु लगाउने किसानलाई सुविधा दिँदै आएको सञ्चालक बाबराको भनाइ छ । सञ्चालकले खेतमै पुगेर बीउबिजन, मलखाद र भुक्तानीमा सहयोग गर्दै आएका छन् । दैनिक २० हजार क्विन्टल क्रसिङ गर्ने बाबा बैजुनाथले उखु अभावका कारण ७/८ हजारभन्दा कम क्रसिङ गरिरहेको थियो । पुस दोस्रो सातादेखि मिल सञ्चालनमा आएको थियो ।

 मिलले भारतबाट उखु ल्याउने योजना पनि बनाएको थियो । स्थानीय प्रशासनको कडाइले उखु ल्याउन सकेन । छिमेकी बारा र सर्लाहीका किसानले उखु दिन नमानेपछि मिललाई अपुग भएको हो । यसपटक रौतहटका केही किसानले सर्लाहीको चिनी मिललाई उखु बिक्री गरे । यसले झनै समस्या थपेको सञ्चालक बाबराले बताए ।

‘आफ्नै जिल्लामा मिल हुँदाहुँदै सर्लाहीतिर लैजान्छन्,’ उनले भने, ‘हामीले उखुको मुल्य, चलानी, भुक्तानीलगायतमा सहुलियत दिएकै छौं । तर पनि किसानलाई चित्त बुझाउन सकिएको छैन ।’ रघुनाथपुरका किसान सुखलराय यादवले मिलको भुक्तानी प्रक्रिया र ढिला मूल्य तोक्ने प्रवृत्तिका कारण सर्लाहीका मिललाई उखु दिएको सुनाए । ‘जता सहज र चाँडै भुक्तानी पाउँछौं त्यहीं उखु लैजान्छौं,’ उनले भने ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully