सम्झौता सकिन सात महिनाअघि बन्यो पुल

ढुंगेटारीस्थित खारखोलाको मोटरेबल पुल निर्माणको समय १८ महिना थियो, बन्यो ११ महिनामा

फाल्गुन २७, २०८१

हरिराम उप्रेती

The bridge was built seven months before the end of the contract

गोरखा — ठेक्काको सम्झौता अवधि सकिन सात महिना बाँकी छँदै पालुङटार नगरपालिका–९ स्थित खारखोलामा मोटरेबल पुल निर्माण सकिएको छ । २०८० चैत २७ मा १८ महिनाभित्र सक्ने गरी श्रीगणेश अमृत देवी निर्माण सेवा जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । ढुंगेटारीस्थित खारखोलाको उक्त मोटरेबल पुल निर्माणको काम ११ महिनामा सकिएको हो ।

खारखोला पुलको निर्माण सकिएको पूर्वाधार विकास कार्यालयका प्राविधिक मोहन श्रेष्ठले बताए । ‘१८ महिना समय थियो, ११ महिनामै काम सकियो,’ उनले भने, ‘काम सकिए पनि ठेकेदारले पूरै भुक्तानी पाएका छैनन्, रकमान्तर गरेर भुक्तानी प्रक्रिया चलिरहेको छ ।’ 

सम्झौताअनुसार उक्त पुल निर्माणको म्याद २०८२ असोज २६ सम्म छ । पुलको भौतिक प्रगति पूरा भएको र वित्तीय प्रगति भने ८० प्रतिशत रहेको श्रेष्ठले सुनाए । ‘गत वैशाखबाट काम सुरु हुँदा नै यो पुलको प्रगति राम्रो थियो, निर्माण सामग्री ल्याउन पनि सहज नै ठाउँ छ, अरू समस्या पनि नआएपछि लगातार काम भयो,’ उनले भने । २ करोड ७५ लाख लागतमा २५ मिटर लम्बाइको आरसीसी मोटरेबल पुल निर्माण भएको हो । 

दसकिलो–बिर्दी–शेरा सडकखण्डअन्तर्गत ढुंगेटारीको खारखोलामा पुल निर्माण भएसँगै पालुङटार नगरपालिका–९, १०, ६ नम्बर वडाका बासिन्दालाई सहज हुनेछ । यसअघि स्थानीय अबुँवा भएर गोरखा बजार पुग्थे । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully