काठमाडौँ — लक्ष्मी सनराइज बैंकको अगुवाइमा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता भएको छ । बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सम्झौता भएको हो ।
काठमाडौंमा आयोजित एक समारोहबीच बैंक र उक्त कम्पनीबीच मुस्ताङ तथा म्याग्दीमा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न सम्झौता भएको हो ।
आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जामा महत्त्वपूर्ण भूमिका खेल्ने लगानीकर्ताले जनाएका छन् । आयोजनाले २७ फागुन २०७५ सालमा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिएको थियो । साथै १७ फागुन २०७९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको मुख्य प्रवर्द्धकमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान छन् । उक्त परियोजना निर्माणका लागि लक्ष्मी बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब रुपैयाँ छ । सहअगुवा बैंकका रूपमा रहेका ग्लोबल आईएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।
अन्य सहभागी बैंकमा हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबीआई बैंकको ३ अर्ब र एभरेस्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँसमेत गरी कुल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ छ । उक्त आयोजना सन् २०२९ को जुनभित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन योजना रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले १०५६ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने कम्पनीले जनाएको छ ।
