भैरहवा भन्सारको राजस्व असुली ७ महिनामा ५३ अर्ब १७ करोड

फाल्गुन २६, २०८१

माधव ढुंगाना

53.17 billion Bhairahawa customs revenue collection in 7 months

भैरहवा — मुलुकको दोस्रो ठूलो भन्सारका रुपमा रहेको भैरहवा भन्सार कार्यालयले चालु आवको सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

राजस्व संकलनका दृष्टिले भैरहवा भन्सार कार्यालय वीरगन्जपछिको दोस्रो ठूलो भन्सार मानिन्छ । गत साउनदेखि माघसम्मको यो भन्सार राजस्व असुली गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ७७ प्रतिशतले धेरै हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले चालु वर्षको सात महिनामा वार्षिक लक्ष्यको ४८ दशमलव ६४ प्रतिशत राजस्व असुली भएको र मासिक लक्ष्य पनि औसतमा ८५ प्रतिशतमाथि रहेको बताए ।

गत आवको यस अवधिमा कार्यालयले ४५ अर्ब ५४ करोड राजस्व संकलन गरेको थियो । चालु आवमा १ खर्ब ९ अर्ब ३३ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य छ । चालु आवको सात महिनामा सबैभन्दा बढी मोटरसाइकल आयातबाट १० अर्ब ५ करोड भन्सार राजस्व असुली भएको प्रमुख रेग्मीले बताए ।  

कार्यालयका अनुसार भैरहवा नाकाबाट आयात हुने मुख्य १० वस्तुमा मोटरसाइकल, जिप, कार र भ्यान, पेट्रोल, मोबाइल, एमएस बिलेट, टायल, डिजेल, मार्बल स्ल्याब र एलपी ग्याास छन् ।

सात महिनामा इन्धनबाट चल्ने जीप, कार र भ्यानबाट ५ अर्ब ७५ करोड, पेट्रोलबाट २ अर्ब १५ करोड, विद्युतीय जिप, कार र भ्यानबाट १ अर्ब ३४ करोड, शुद्ध फलामबाट १ अर्ब ९५ करोड, इन्धनबाट चल्ने डबल पिकअप गाडीबाट १ अर्ब १७ करोड, सेलफोनबाट १ अर्ब ३ करोड, चकलेटबाट १ अर्ब ५२ लाख, एमएस बिलेटबाट ८१ करोड ९२ लाख र टायलबाट ८१ करोड ३७ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully