१० महिनामा दोब्बरभन्दा धेरै पुगे टुजी प्रयोगकर्ता

गत वैशाखमा १४ लाख ७१ हजारले टुजी इन्टरनेट चलाउने गरेकामा माघसम्ममा त्यस्ता प्रयोगकर्ताको संख्या ३२ लाख ६५ हजार पुगेको छ

फाल्गुन २५, २०८१

सजना बराल

Twoji users more than doubled in 10 months

काठमाडौँ — पछिल्लो १० महिनामा टुजी इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या दोब्बरभन्दा धेरैले बढेको छ । गत वैशाखमा १४ लाख ७१ हजारले टुजी चलाउने गरेकामा माघमा आइपुग्दा देशभर ३२ लाख ६५ हजारभन्दा धेरैले यस्तो सेवा लिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपालमा इन्टरनेट सेवा प्रविधि फोरजी र फाइबर (एफटीटीएच) मा रूपान्तरण भइरहे पनि टुजी प्रयोगकर्ताको संख्या आश्चर्यजनक रूपमा बढिरहेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

प्राधिकरणको एमआईएस रिपोर्टअनुसार ब्रोडब्यान्ड प्रविधिअन्तर्गत माघमा टुजी प्रयोगकर्ताको संख्या ३२ लाख ६५ हजार ४०१ थियो । यो भनेको इन्टरनेट सेवा प्रयोग गर्नेमध्ये ११.२० प्रतिशतले अझै पनि टुजी चलाउँछन् भन्ने हो । हाल नेपालमा ब्रोडब्यान्ड प्रविधि प्रयोग गर्नेको संख्या देशको जनसंख्याभन्दा धेरै ४ करोड २७ लाख ६४ हजार १६९ र इन्टरनेट पेनिट्रेसन १४६.६३ प्रतिशत छ । यसमध्ये सबैभन्दा धेरै २ करोड ५१ लाख ९७ हजार (८६.४० प्रतिशत) ले फोरजी सेवा प्रयोग गर्छन् ।

टुजी र फोरजी प्रयोगकर्ताको संख्या तलमाथि हुँदा थ्रीजी प्रयोगकर्ताको संख्या भने पछिल्ला महिनामा स्थिर देखिएको छ । कात्तिकयता नेपालमा थ्रीजी प्रयोगकर्ताको संख्या ९/१० लाख हाराहारी रहँदै आएको छ । गत वैशाखमा भने झन्डै ७२ लाख थ्रीजी प्रयोगकर्ता रहेकामा असोजमा स्वाट्टै घटेर ४ लाख २० हजारमा सीमित भएको प्राधिकरणको तथ्यांक छ । त्यसयता थ्रीजी प्रयोगकर्ताको संख्या उल्लेख्य बढ्न सकेको छैन ।

नेपालको मोबाइल इन्टरनेट क्षेत्रमा प्रमुख हिस्सा ओगटेको फोरजी सेवाका प्रयोगकर्ताको संख्या गएको वैशाखमा २ करोड १९ लाख ८२ हजार रहेकामा माघमा २ करोड ५१ लाख ९७ हजार पुगेको छ । यसको अर्थ १० महिनामा ३२ लाख १५ हजारभन्दा धेरै फोरजी चलाउनेहरू थपिएका छन् ।

छिमेकी भारतलगायत देशमा कुल प्रयोगकर्ताको ६० प्रतिशतभन्दा बढी फाइभजीमा आबद्ध भइसकेका बेला नेपालमा भने टुजीको आकर्षण कायम रहेको हो । भारतमा टुजी चलाउनेको संख्या २५ देखि ३० करोड रहे पनि यो संख्या दुई–तीन वर्षदेखि स्थिर छ । नेपालमा भने टुजी चलाउने बढेका हुन् । फाइभजीका लागि परीक्षण गर्ने जिम्मेवारी पाएको नेपाल टेलिकमले यसमा कुनै प्रगति हासिल गर्न सकेको छैन ।

विज्ञका अनुसार प्रयोगकर्ताहरू टुजीबाट सिधै फोरजीमा गइरहेका छन् । थ्रीजी फेज आउज (प्रयोगबाट हट्ने) चरणमा पुगेकाले यसमा सेवा प्रदायकले लगानी गर्नुको औचित्य कम हुँदै गएको कतिपयको राय छ । टुजी सस्तो र सर्वसुलभ हुनुका साथै फोरजी नपुगेका ग्रामीण क्षेत्रहरूमा यो नै प्रमुख इन्टरनेटको माध्यम छ ।

विश्वभर मोबाइल इन्टरनेट सेवा प्रदायकहरू थ्रीजी नेटवर्क हटाउँदै फोरजी र फाइभजी सेवा विस्तारमा लागेका छन् । नेपालमा भने सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्यान्डमा सञ्चालन भइरहेको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यसै आर्थिक वर्षभित्रमा टुजी सेवा बन्द गर्ने योजना रहेको जानकारी दिएको हो ।

अघिल्लो महिना टेलिकमको २१औं वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले टुजी सेवा बन्द गर्नेबारे बताएकी थिइन् । टेलिकमले प्रविधि रूपान्तरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले फोरजीको विस्तारमा प्राथमिकता दिँदै टुजी सेवालाई विस्थापन गर्न लागेको हो । हालसम्म देशका ७७ जिल्लाका ७४४ पालिकामा नेपाल टेलिकमको फोरजी सेवा पुगिसकेको प्रबन्ध निर्देशक पहाडीको भनाइ थियो । 

Twoji users more than doubled in 10 months

माघमा नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ताको संख्या ७ लाख ८२ हजार ३ सय र फोरजी प्रयोगकर्ताको संख्या १ करोड ३३ लाख ७४ हजार ६ सय ९१ थियो । सोही महिना निजी स्वामित्वको एनसेलका थ्रीजी प्रयोगकर्ताको संख्या १ लाख ३८ हजार ५ सय ६१ र फोरजी प्रयोगकर्ताको संख्या १ करोड १८ लाख २२ हजार ३५० रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully