सिजनमा पर्यटकलाई फाप्लु एयरपोर्टबाट लुक्ला लगिने
सोलुखुम्बु — मन्थली विमानस्थलको विकल्पका रूपमा लुक्ला जाने आधार एयरपोर्टका लागि फाप्लु विमानस्थलमा हवाई इन्धन केन्द्र ‘रिफ्युलिङ सेन्टर’ राखिने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र जान लुक्लाका लागि मन्थलीबाट उडान हुँदै आएको छ । मौसम बिग्रँदा पर्यटकीय पूर्वाधारको अभावमा पर्यटकले सास्ती खेप्नुपरेको भन्दै सरोकारवालाले फाप्लु विमानस्थललाई आधार एयरपोर्ट बनाउने पहल थालेका हुन् ।
फाप्लुमा हवाई जहाजहरूका लागि ‘रिफ्युलिङ सेन्टर’ स्थापना गरी यहींबाट विदेशी पर्यटकलाई लुक्ला उडान गराउने योजना अघि बढाइएको हो । यसका लागि सोलुदूधकुण्ड नगरपालिका र निजी विमान कम्पनी तारा एयरले यसअघि नेपाल आयल निगममा निवेदन दिएका दिए । सोहीबमोजम ‘रिफ्युलिङ सेन्टर’ निर्माणका लागि सम्भाव्यता अध्ययनका क्रममा निगमको टोली फाप्लु आएर ३ महिनाभित्रै अस्थायी ‘रिफ्युलिङ सेन्टर’ राख्न सकिने बताएको छ ।
‘हामीले एयरपोर्टसम्मको सडक सञ्जाल र जग्गाको उपलब्धता अध्ययन गरेका छौं,’ निगमका उपनिर्देशक जगदीशचन्द्र यादवले भने, ‘हामीले मन्थली एयरपोर्टमा राखे जस्तो अस्थायी संरचना तीन महिनाभित्र राख्न सक्छौं, स्थायी संरचनाका लागि भने अर्को आर्थिक वर्षमै बजेट व्यवस्था गर्नुपर्नेछ ।’ सडक र अन्य दृष्टिकोणले फाप्लु विमानस्थलमा जहाजका लागि इन्धन डिपो बनाउन सम्भव रहेको उनको भनाइ छ ।
काठमाडौंबाट २ सय ६५ किलोमिटर दूरीको कालोपत्र सडकमा ८–९ घण्टाको यात्रामा पर्यटक फाप्लु आइपुग्न सक्छन् । मौसम बिग्रँदा पनि पत्ताले, सल्लेरी र फाप्लुमा पर्यटकलाई बासका लागि सुविधासम्पन्न होटल बनेका छन् । मन्थलीबाट लुक्ला पुग्न जहाजलाई २० मिनेट लाग्छ भने फाप्लुबाट लुक्ला ९ मिनेटमा पुग्न सकिन्छ । पर्यटकको सहजता र तल्लो सोलुको पर्यटन विकासका लागि पनि फाप्लु विमानस्थललाई लुक्लाको आधार एयरपोर्ट बनाइनुपर्ने माग राखिएको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । ‘मौसम बिग्रँदा लुक्ला जान नपाएर मन्थलीमा बासको अभावमा हजारौं पर्यटक अलपत्र पर्ने गरेका छन्, कम्तीमा फाप्लु बेस एयरपोर्ट भयो भने मौसम बिग्रेर उडान नहुँदा पनि गाडीमा ५–६ घण्टामै लुक्ला पुग्न सकिन्छ,’ शेर्पाले भने ।
हवाई इन्धन सेन्टर स्थापना भएपछि फाप्लु विमानस्थल पर्यटकीय केन्द्र बन्ने पर्यटन व्यवसायीको विश्वास छ । यसले हिमाली पर्यटन प्रवर्द्धनमा नयाँ युगको सुरुवात हुने पर्यटनविद् बच्चुनारायण श्रेष्ठले बताए । ‘तल्लो सोलुको पर्यटन प्रवर्द्धनमा पनि यो कार्यले ठूलो टेवा पुग्छ,’ उनले भने । काठमाडौं विमानस्थलमा भएको अधिक चापका कारण पर्यटकीय सिजनमा भने विदेशीलाई लुक्लासम्म लैजान रामेछापको मन्थली विमानस्थल प्रयोग गरिँदै आएको छ ।
