ट्रम्पको कर नीतिले विश्व सेयर बजारमा हलचल

क्यानडा, मेक्सिको, चीनजस्ता देशलाई आयात कर लगाउने ट्रम्पका निर्णयले अमेरिकी सेयर बजार नै सबैभन्दा बढी प्रभावित, युरोपमा पनि गिरावट

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Trump's tax policy shakes the global stock market

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गरेका प्रायः सबै निर्णयले विश्व अर्थतन्त्रलाई नै तरंगित बनाएको छ । जसको प्रत्यक्ष असर विश्व व्यापारसँगै सेयर बजारमा पनि देखिएको छ । 

सबैभन्दा बढी असर अमेरिकी सेयर बजारमा परेको छ । यद्यपि बिहीबार अमेरिकाका मुख्य सेयर बजारहरू बढेर बन्द भएका छन् । युरोप, पश्चिम एसिया तथा अफ्रिका (एसिया प्यासिफिक) क्षेत्रका सेयर बजार आंशिक रूपमा मात्र प्रभावित छन् । तर, दक्षिण एसियाली सेयर बजार भने केही प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयात कर लागू गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोले गैरकानुनी आप्रवासन र अवैध फेन्टनाइलको तस्करी नरोकेको भन्दै आयात कर लगाएका हुन् । क्यानडेली ऊर्जा उत्पादनमा भने १० प्रतिशत कर लगाइएको छ । त्यस्तै, चीनबाट हुने आयातमा पनि १० प्रतिशत कर थप गरिएको छ । 

ट्रम्पले दोस्रो कार्यकालमा पहिलो पटक कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभन्दा केही घण्टा अघिदेखि नयाँ कर कार्यान्वयनमा ल्याइएको हो । ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै विदेशी वस्तुमा चर्को कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले यसअघि नै चीन र युरोपेली संघबाट अमेरिका भित्रने सामानमा १० प्रतिशत कर लगाउने बताइसकेका छन् । अमेरिकी निर्णयको क्यानडा र चीनले तत्काल प्रतिक्रिया दिएका छन् । क्यानडाले १ खर्ब ५५ अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत आयात करको घोषणा गरेको छ । यसले पनि अमेरिकासँगै अन्य क्षेत्रका सेयर बजार पनि प्रभावित हुने प्रक्षेपण गरिएको छ । 

अमेरिका

अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक बिहीबार उच्च अंकले बढेर बन्द भए । वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको ‘एस एन्ड पी ५००’ सूचक ६४.४८ अंक (१.१२ प्रतिशत) र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको ‘नास्डाक’ कम्पोजिट २६७.५७ अंक (१.४६ प्रतिशत) बढेर बन्द भए । मासिक रूपमा ‘एस एन्ड पी ५००’ सूचक ३.९६ प्रतिशतले घटेको देखिन्छ भने वार्षिक रूपमा यो सूचक १३.७७ प्रतिशतले सकारात्मक छ । 

मासिक रूपमा ७.१५ प्रतिशतले गिरावट आएको ‘नास्डाक’ मा वार्षिक रूपमा भने अझै १४.४५ प्रतिशतले सकारात्मक छ । खासगरी राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि भएका निर्णयका कारण सेयर बजार प्रभावित भएका थिए । यसकारण दैनिक, साप्ताहिक र मासिक रूपमा सेयर बजारहरू ऋणात्मक भएका छन् । तर, उनी दोस्रो पटक राष्ट्रपति हुनुअघि सेयर बजारहरू उच्च दरले बढेकाले अझै वार्षिक रूपमा सूचकहरू सकारात्मक छन् । 

यसैगरी, ३० वटा कम्पनीको संयुक्त सूचक ‘डाउजोन्स इन्डस्ट्रियल एभरेज’ बिहीबार ४८५ अंकले बढेर बन्द भए पनि मासिक रूपमा ३.८९ प्रतिशतले गिरावट आएको छ । यद्यपि पछिल्ला केही दिनयता यो सूचकमा भारी गिरावट आएको छ । जसअनुसार मंगलबार मात्र यो सूचकमा ६५० अंकको गिरावट आएको थियो । एकै दिन यति धेरै गिरावट ट्रम्प राष्ट्रपति भएयताकै सबैभन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औंल्याएका छन् । यद्यपि बुधबार र बिहीबार यो सूचक उच्च अंकले बढेको छ । 

यस्तै, न्युयोर्क स्टक एक्सचेन्जको संयुक्त परिसूचकमा पनि बिहीबार २ सय ५९ अंक (१.३३ प्रतिशत) र एस एन्ड पीको संयुक्त सूचकांक २ सय ९८ अंक (१.२२ प्रतिशत) ले बढेर बन्द भए । मासिक रूपमा न्युयोर्क स्टक २ प्रतिशत र एस एन्ड पीको संयुक्त सूचकांक २.६० प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ । तर, वार्षिक रूपमा यी दुवै सूचकांक सकारात्मक अवस्थामा छन् । 

युरोप

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको निर्णयले युरोपका सेयर बजार धेरै प्रभावित नभए पनि बिहीबार अधिकांश बजार घटेर बन्द भएका छन् । बिहीबारको कारोबारमा पेरिसस्थित ‘क्याक ४०’ सूचक ४१.४१ अंक (०.५१ प्रतिशत) ले घटेर बन्द भएको छ । फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ सूचक ११३ अंक (०.४९ प्रतिशत) ले बढेर बन्द भयो । यी सूचकहरू मासिक र वार्षिक रूपमा पनि उच्च अंकले बढेका छन् । 

लन्डनस्थित ‘फुट्सी १००’ पनि ७९.५८ अंक (०.९१ प्रतिशत) ले घटेर बन्द भएको छ । मासिक रूपमा यो सूचकमा ०.५४ प्रतिशतले गिरावट छ भने वार्षिक रूपमा १३.१६ प्रतिशतले बढेको छ । डेनमार्क, फ्रान्सलगायत राष्ट्रका सेयर बजार बिहीबार

ओरालो लागेका छन् । तर, टर्की, पोल्यान्ड, जर्मनी, दक्षिण अफ्रिकालगायतका सेयर बजार भने केही बढेका छन् । 

एसिया प्यासिफिक 

राष्ट्रपति ट्रम्पका पछिल्ला निर्णयबाट एसिया प्यासिफिक क्षेत्रका सेयर बजार आंशिक प्रभावित भएका छन् । यो क्षेत्रका प्रमुख सेयर बजार पनि मासिक र वार्षिक रूपमा केही घटेका छन् भने केही बढेका छन् । जसअनुसार बिहीबार जापानको ‘निक्केई’ २८६ अंक अथवा ०.७७ प्रतिशतले बढेर बन्द भएको छ । तर, मासिक रूपमा यो सूचक ३.४९ र वार्षिक रूपमा ५.९५ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ । 

टोकियो स्टक एक्सचेन्जको मूल्य सूचकांक टोपिक्स पनि ३३.२० अंक अथवा १.२२ प्रतिशतले बढेको छ । तर, मासिक रूपमा ०.०३ प्रतिशतले घटेको यो सूचक वार्षिक रूपमा ०.७६ प्रतिशतले सकारात्मक छ । अस्ट्रेलियाको मुख्य सेयर बजार ‘एस एन्ड पी– एएसएक्स २००’ करिब ४६.४० अंक (०.५७ प्रतिशत) ले घटेको छ । मासिक ५ प्रतिशतले गिरावट भएको यो सूचकांक वार्षिक रूपमा भने ४.६७ प्रतिशतले बढेको छ । 

प्यासिफिक क्षेत्रका १५ मुलुकमा स्टकको संयुक्त सूचकांक ‘एमएससीआई एसिया प्यासिफिक’ झिनो अंकले घटेर बन्द भएको छ । मासिक रूपमा पनि सामान्य सकारात्मक देखिएको यो सूचक वार्षिक रूपमा भने ६.६४ प्रतिशतले बढेर बन्द भएको देखिन्छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पका निर्णयले चीन र हङकङको सेयर बजारमा कुनै प्रभाव परेको देखिँदैन । चीनका सेयर बजार निरन्तर बढेका छन् भने हङकङमा सामान्य प्रभाव परेको छ । 

यस्तै, भारतका सेयर बजार बिहीबार बढेर बन्द भए पनि मासिक र वार्षिक रूपमा भने ऋणात्मक अवस्थामै देखिन्छन् । भारतका बम्बई स्टक एक्सचेन्ज (बीएसई १००), सेन्सेक्स, निफ्टी ५० लगायत सूचकांक बुधबार बढेर बन्द भएका छन् । तर, मासिक रूपमा बम्बई स्टक एक्सचेन्ज (बीएसई १००) ४.८९ प्रतिशतले घटेको छ भने वार्षिक रूपमा ०.७५ प्रतिशतले सकारात्मक छ ।

बिहीबार सेन्सेक्स ६०२ अंक बढेर बन्द भयो । मासिक रूपमा ४.७६ प्रतिशतले ऋणात्मक रहेको यो सूचक वार्षिक रूपमा ०.३४ प्रतिशतले बढेको छ । निफ्टी ५० पनि २०० अंक बढेर बन्द भएको छ । तर, मासिक रूपमा ४.४९ प्रतिशतले घटेको यो बजार वार्षिक रूपमा ०.३१ प्रतिशतले बढेको ब्लुमबर्गले जनाएको छ । 

नेपाल

प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय प्रभाव नपर्ने भए पनि नेपालमा पछिल्ला दिनमा सेयर बजार निरन्तर घटिरहेको छ । जसअनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २.७० अंकले घटेर २ हजार ८ सय १७.४३ बिन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो २.७० प्रतिशतले घटेको हो । सोमबार, मंगलबार, बुधबार उच्च अंकले घटेको नेप्सेले बिहीबार पनि सोही प्रवृत्ति पछ्याएको हो । 

उक्त दिन कारोबारमा आएका मध्ये १०० वटा कम्पनीको सेयर मूल्य बढ्यो, १३१ वटाको घट्यो भने बाँकी १२ कम्पनीको स्थिर रह्यो । ९३ हजार ८ सय ९५ पटकको कारोबारमा १ करोड ९० लाख ४१ हजार ५ सय १ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १० अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम घटेको हो ।

कान्तिपुर

Link copied successfully