डेडिकेटेड र ट्रंकलाइनको बक्यौतालाई नाफा देखाई राजस्व तिरेर घिसिङले अपराध गरे : ऊर्जामन्त्री

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Ghising committed crime by showing profit on dedicated and trunk line dues and paying revenue: Energy Minister

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौतालाई नाफा देखाइ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई राजस्व तिरेर अपराध गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले आम्दानी हुन्छ कि हुँदैन भन्ने विषयलाई नाफा मानेर राजस्व तिर्न पाइने की नपाइने भन्दै प्रश्न गरे । 

'डेडिकेटेड र ट्रंकलाइनमा २२ अर्ब व्यापारी तिर्नुपर्ने तिरेका छैन भनेर नाफा बाँधिएको रहेछ,त्यसलाई देखाएर राजस्व तिरेको रहेछ,' उनले भने, 'जुन रकम उठ्दै उठेको छैन। यकिन हुन सकेको छैन । आम्दानी हुन्छ कि हुँदैन भन्ने विषयमा र नाफा मानेर राजस्व तिर्न पाइन्छ की पाइँदैन ? त्यो अपराध होइन ।'

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकमा घिसिङले प्रतिसेयर सय रुपैयाँको ठाउँमा ३ सय रुपैयाँमा बिक्री गर्नु पर्छ भनेर प्रस्ताव ल्याइएको खड्काले जनाए । 'मैले भने नाफा यकिन गरौँ पाँच सयमा बिक्री हुने हो कि ? नाफा नोक्सानीको डीडीए गर्ने  बोर्डले निर्णय गर्‍यो । तर घिसिङले कार्यान्वयन गरेनन्,' उनले भने, 'नाफा हो भनेर जनतालाई ३ सयमा सेयर बेच्दै गर्दा प्राधिकरणको हविगत के होला ? के भन्छन् जनताले ? उहाँले जे भन्दै जानुहुन्छ त्यो मान्दै जानुपर्ने ?'

आर्थिक वर्ष ०८०/८१  को कार्यसम्पादन मूल्यांकनमा घिसिङ उपस्थित नभएकाले शून्य नम्बर दिइएको समेत खड्काले जनाए । कार्यसम्पादन सम्झौता अनुसार भदौमा घिसिङले अनुरोध गर्नु पर्ने भए पनि अनुरोध नगरेको उनले सुनाए । 

'भदौमा उहाँले अनुरोध गर्नुभएन, मूल्यांकन हुने  कुरै भएन,' खड्काले थपे, 'भदौ सकेपछि असोजमा तपाईँले कार्यसम्पादन मूल्यांकन बुझाउनु भएन भनेर  लिखित रूपमा स्मरण गराइयो  । त्यसलाई बेवास्ता गरियो । पुसमा ल्याएर आफैले ९८.९९ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिइयो ।' सबै नागरिकहरू संविधान र कानुनअन्तर्गत रहने भएकाले कार्यसम्पादन मूल्यांकनमा घिसिङ उपस्थित नभएकाले  शून्य नम्बर दिएको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully