साउदी सरकारको सहयोगमा महोत्तरीमा व्यावसायिक प्रशिक्षण केन्द्र बन्ने

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Establishment of Vocational Training Center in Mahottari with the help of Saudi Government

काठमाडौँ — साउदी सरकारको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा सीपयुक्त जनशक्ति उत्पादन गर्न महोत्तरीमा बहुउद्देश्यीय व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुने भएको छ ।

यसका लागि साउदी सरकारले १० लाख डलर दिने भएको छ ।राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा बुधबार जारी विज्ञप्तिअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग र आवश्यक्ता अनुरुप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न महोत्तरीमा प्रशिक्षण केन्द्र बनाउन लागिएको हो ।

केन्द्र स्थापनाका लागि आवश्यक सरकारी जग्गा प्राप्तिका लागि भूमि सुधार तथा मालपोत कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौतामा हस्ताक्षर भएको छ ।राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना गर्न प्रमुख गन्तब्य देशसँग द्विपक्षीय संवाद र समन्वय अगाडि बढाइएको जनाएको छ ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यक्ता अनुरुप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनको लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८१ जारी भइसकेको छ ।

‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटी, ललितपुर र सोही प्रतिष्ठानको मातहतका विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्र मार्फत् श्रम बजार लक्षित विभिन्न सीप मूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन, सीप परिक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने, गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully