निजी लगानीमा हस्तक्षेप हुँदा व्यवसायी चिन्तामा छन् : अध्यक्ष ढकाल

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Businessmen are worried when private investment is interfered with: President Dhakal

काठमाडौँ — उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी लगानीमा हस्तक्षेप हुँदा व्यवसायी चिन्तामा परेको बताएका छन् ।

महोत्तरीको गौशालामा आइएमई ग्रुपले स्थापना गरेको नेपाल पल्प पेपर इण्डष्ट्रिजको उद्घाटन कार्यक्रममा बोल्दै ढकालले पाथीभरामा बन्न लागेको केबुलकारमा भएको अवरोध व्यापारमा असर पर्ने बताए ।  

नयाँ नभई स्थानीयको मागअनुसार यातायातको अवस्थामा सुधार ल्याउन मेगा परियोजनाको रूपमा केबुलकार निर्माण हुँदा जिल्ला बाहिरबाट गएका हुलले अवरोध गरेको उनको भनाइ छ । उनले भने, 'मेगा परियोजनाको सुरुआत हुँदा जिल्ला बाहिरबाट अवरोध भएको छ । निजी क्षेत्रमामा भएको लगानीमा अवरोध हुँदा चिन्ता बढाएको छ ।'

उनले पूर्वाधार विकासमा राजनीति नगरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे । प्रकृतिले दिएको अपार सम्भावनालाई सदुपयोग गरेर मुलुकको अर्थतन्त्रमा परिवर्तन ल्याउन सकिने उनले बताए । मुलुकको विकासका लागि प्रयोगमा आएको कागजलाई प्रशोधन गरी नयाँ कागज बनाउने उद्योग आइएमई ग्रुपले गौशालामा स्थापना गरेको ढकालले बताए । उद्योगमा बढी भन्दा बढी नागरिकलाई फाइदा हुने गरी आइएमई ग्रुपले लगानी गर्ने नीति लिएको ढकालले बताए ।

कान्तिपुर

Link copied successfully