'जतिसुकै स्पष्टीकरण बुझाउनु परोस्, एक घण्टा भए पनि काम गर्ने ताकत र ल्याकत राख्छु'

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

”No matter how much I have to explain, even if it's for an hour, I have the strength and ability to work.”

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई जतिसुकै स्पष्टीकरण बुझाउनु परे पनि एक घण्टा काम गर्ने ताकत र ल्याकत राख्ने बताएका छन् । प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गतका वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 

'आज हो कि भोलि हो भन्ने हल्ला सुन्नु भएकै होला, तर अन्तिम मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,' उनले भने, '५/६ वटा स्पष्टीकरण  मलाई सोधियो होला, बुझाएँ होला ।' आफूलाई शून्य अंक वा सय अंक दिए पनि त्यसले मान्यता नराख्ने उनले जनाए ।  

'प्रदेशको मूल्यांकन तपाईंहरूले गरी राख्नु भएको छ, तपाईंले शून्य दिनुहुन्छ कि सय दिनुहुन्छ कि ५० दिनुहुन्छ, यो प्रदेशको तपाईंहरूले मूल्यांकन गरिरहनुभएकै होला,' उनले भने, 'हामी सबैले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिरहेका छौं । जतिसुकै स्पष्टीकरण बुझाउनु परे पनि एक घण्टा भए पनि काम गर्ने ताकत र ल्याकत राख्नु पर्छ भन्ने हिसाबले काम गरिरहेका छौं । त्यही हिसाबमा हिँडिरहेको हुन्छ । ' 

आठ वर्षअघि आफू प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा ५० देखि ५५ प्रतिशत मात्रै विद्युतीकरण रहेको समेत घिसिङले सुनाए । 'त्यसमा १५ देखि १८ घण्टा लोडसेडिङ थियो, प्राविधिक कारणले अझै छिटपुट समस्या छ,' उनले भने,'चेपाङ, मुसहरदेखि कर्णालीका विकट गाउँसम्म ९९ प्रतिशत जनतामा बिजुली पुगेको छ ।' 

अब सय प्रतिशत घरपरिवारमा बिजुली पुगेको घोषणा गर्नेसमेत उनले सुनाए । टुकीमुनि बस्नेलाई बिजुलीको उज्यालो दिनु पर्नेमा अब खेत खेतमा पनि विद्युतीकरणको आवश्यकता महसुस भएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully