मेलम्चीको मुहान सुरक्षित बनाउन छैन तयारी

साढे ३ वर्षअघि बाढीले क्षति गरेको मुहानको अवस्था अहिले पनि उस्तै

फाल्गुन २०, २०८१

विमल खतिवडा

There is no preparation to make the mouth of Melamchi safe

काठमाडौँ — काठमाडौं उपत्यकामा खानेपानीका लागि मुख्य स्रोत हो, मेलम्ची खानेपानी आयोजना । तर बर्खामा बाढीबाट मुहान असुरक्षित हुँदा मेलम्ची आयोजनाको पानी आपूर्ति बेलाबेलामा अवरुद्ध हुने गरेको छ । पछिल्लो समय २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रमा क्षति गरेको थियो, जसका कारण काठमाडौं उपत्यकामा नियमित पानी वितरण हुन सकेको छैन ।

हरेक बर्खामा मेलम्चीको मुहानमा पानी पथान्तरणका लागि बनाइएको ‘इन्टेक’ (हेडवर्क्स क्षेत्र) बाढीको जोखिममा पर्ने गर्छ । तर बर्खा नजिकिँदै गर्दा मुहान सुरक्षित गर्ने गरी अझै दिगो संरचना निर्माण थालिएको छैन । बाढीले क्षति गर्दा मुहानको अवस्था जस्तो थियो, अहिले पनि उस्तै छ । अहिले जसोतसो खोलो तर्काएको भरमा पानी काठमाडौं ल्याइएको छ । पानी परेर बाढी आए उपत्यकामा आइरहेको खानेपानी ठप्प हुन्छ ।

मेलम्चीको मुख्य ऋणदाता एसियाली विकास बैंक (एडीबी) को सहयोगमा परामर्शदाताले गरेको अध्ययनअनुसार मुहानको हेडवर्क्स अहिले भइरहेको स्थानमा उपयुक्त छैन । एडीबीको सिफारिसअनुसार सर्कथलीमा मुहान सारेर इन्टेक नबनाउन्जेल पानी यसरी नै अस्थायी रूपमा वितरण गर्नुको विकल्प छैन । दिगो संरचना नबन्दासम्म वर्षमा ७/८ महिनाभन्दा बढी समय उपत्यकामा पानी आउने छैन । सर्कथली अहिलेको मुहानबाट ८ सय मिटर माथि पर्छ । सुरक्षित ठाउँमा मुहान सार्ने विषयमा प्रगति हुन सकेको छैन ।

मुहानलाई सुरक्षित ठाउँमा सार्ने गरी परामर्शदाता छनोटको प्रक्रिया अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । ‘परामर्शदाता छनोटका लागि बोलपत्र आह्वान गरिसकेका छौं,’ उनले भने । बढीमा ३ महिनाभित्र परामर्शदाता छनोट टुंग्याइने उनको भनाइ छ । परामर्शदाता छनोट भएपछि उसले डिजाइन गर्नेछ । ‘डिजाइनको काम सकिएपछि निर्माणका लागि ठेक्का आह्वान गर्छौं,’ लामिछानेले भने, ‘सबै प्रक्रिया पूरा गरेर निर्माण थाल्न बढीमा एक वर्ष लाग्ने अनुमान छ ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक वर्ष २०५५/५६ मा सुरु भएको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन । मेलम्ची मुहानबाट २६ किमि सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याइएको छ । मेलम्चीबाट पहिलो चरणमा १७ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना थियो । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याउने योजना हो । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि उक्त योजना अझै पूरा हुन सकेको छैन । यांग्री र लार्के खोलाबाट पानी ल्याउने प्रक्रिया नै सुरु भएको छैन ।

‘यांग्री र लार्के खोलाको डिजाइन अब छनोट हुने परामर्शदाताबाटै हुन्छ,’ लामिछानेले भने, ‘त्यसपछि निर्माणको प्रक्रिया अघि बढाइनेछ ।’ मेलम्ची खानेपानी विकास समितिको जिम्मेवारी हेडवर्क्स, सुरुङ निर्माण र सुन्दरीजलमा पानी प्रशोधन गर्ने हो । उपत्यकामा पानी ल्याइसकेपछि त्यसलाई आवश्यक संरचना बनाएर वितरण गर्ने काम मेलम्ची उपआयोजना–२ ले गर्छ । त्यसपछिको वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गर्छ ।

मेलम्ची आयोजनामा हालसम्म ६१ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले मेलम्चीबाट दैनिक २२ करोड लिटर पानी आइरहेको छ । १७ करोड लिटर पानी नियमित प्रक्रियामार्फत वितरण भइरहेको र बाँकी पानी नयाँ पाइप परीक्षण र चाडपर्वमा बागमती नदीमा छाड्ने गरिएको छ ।

अहिले उपत्यकामा दैनिक २६ करोड लिटर पानी वितरण हुँदै आएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जनाए । ‘मेलम्चीबाट १७ करोड र केयूकेएलको पुरानो स्रोतबाट ९ करोड लिटर पानी आउने गरेको छ,’ उनले भने, ‘त्यसैलाई व्यवस्थापन गरेर वितरण गर्दै आएका छौं ।’ उनका अनुसार उपत्यकामा अहिले दैनिक पानीको माग ४७ करोड लिटर छ । मागअनुसार पानी आपूर्ति गर्न नसकिएको उनले बताए ।

एडीबीको ऋण सहयोगमा विभिन्न ९ ठाउँमा पानी जम्मा गर्ने गरी रिजर्भ ट्यांक बनाइएको छ । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार १० किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको मेलम्ची उपआयोजना–२ का उपनिर्देशक एवं सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठको भनाइ छ । ‘पुरानो प्रणालीमा पानी चुहावट हुने समस्या धेरै थियो,’ उनले भने, ‘त्यसैले नयाँ पाइपलाइन विस्तार गरेर पानी वितरण थालिएको छ ।’

पहिलो चरणमा छुटेका क्षेत्र कलंकी, धुम्बाराही, स्वयम्भू, सामाखुसी, बालुवाटारमा अहिले नेपाल सरकारकै लगानीमा पाइपलाइन विस्तार गरिएको श्रेष्ठले बताए । ‘जुन क्षेत्रको ७ सय ९६ किमिमा पाइप विस्तार सकिसकेको छ,’ उनले भने, ‘अब पानी पठाएर परीक्षण गर्न मात्र बाँकी छ, असार मसान्तसम्म यी सबै काम सक्ने योजनामा छौं ।’ परीक्षण गर्न दैनिक ३ देखि ४ करोड लिटर पानी चाहिने भएकाले त्योअनुसार पानीको उपलब्धता हुनुपर्ने उनको भनाइ छ ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully