पुल छिटो बनाउन गाउँपालिकाले पटक–पटक ताकेतापत्र लेखे पनि सुनुवाइ भएन
कालिकोट — कर्णाली राजमार्गको सेरी–पान्तडी जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माण सम्झौता सकिएको २१ महिना बितिसक्दा पनि काम सुरु हुन सकेको छैन । पुल निर्माणको ठेक्का म्याद भने ठेकेदारले पहुँचको भरमा थप्दै आएका छन् ।
‘पुलको ठेक्का भएको ४ वर्ष बितिसक्यो, ठेकेदारले काम सुरु नै गरेको छैन,’ महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले भने, ‘ठेकेदारको लापरबाहीले जनताले दुःख पाएका छन् ।’ पान्तडीमा पुल नबन्दा महाबै गाउँपालिकाका बासिन्दा कर्णाली राजमार्गसँग जोडिन नपाएको उनको गुनासो छ । पुल निर्माणको ठेक्का भएर सुरुको सम्झौताअनुसार काम सक्नुपर्ने अवधि सकिएको २१ महिना बितिसकेको अध्यक्ष सिंहले बताए ।
‘पहुँचवाला ठेकेदार भएकाले कामै गरेका छैनन् । कहिले स्थानीयको अवरोध, कहिले बाढीपहिरो त कहिले कोभिड भन्दै म्याद थप्दै आएका छन्,’ सिंहले भने, ‘पुल छिटो बनाउन गाउँपालिकाले पटक–पटक ताकेता पत्र लेखे पनि कुनै सुनुवाइ भएन ।’ पुल निर्माणस्थलमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन ।
कालीकोटको सेरीघाटदेखि शुभकालिका र महाबै हुँदै खाडाचक्रको बिर्तामोड जोड्ने सडकको पक्की पुल निर्माणका लागि सडक विभागअन्तर्गतको पुल महाशाखा काठमाडौंले २०७७ चैत १२ मा गरेको ठेक्का महादेव खिम्ती निर्माण सेवाका रवि सिंहले ८ करोडमा पाएका थिए । सम्झौतापत्रमा ठेकेदारले २०८० असार १२ मा पुल निर्माण गरिसक्नुपर्ने उल्लेख छ । अवधि सकिएको पनि २१ महिना बितिसकेको छ । पुलको डिजाइन समयमै स्वीकृत नगरिदिँदा निर्माणको काममा ढिलाइ भएको ठेकेदार सिंहले बताए । ‘ढिलो नक्सा स्वीकृत भयो । स्थानीयले मुआब्जा भन्दै साइडमा काम गर्न जाँदा अवरोध गरेकाले ढिलो भएको हो,’ उनले भने । उनी निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन् ।
महाबै र शुभकालिका गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्ने पान्तडी पक्की पुल निर्मार्णका लागि निर्माण व्यवसायी र पुल महाशाखालाई पटक–पटक अनुरोध गर्दा पनि काम सुरु हुन नकसकेको महाबै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले सुनाए । ‘पान्तडी पुलकै लागि २० पटक गाउँपालिकाको टोली काठमाडौं पुग्यो होला । तर सुनुवाइ भएको छैन,’ उनले भने ।
अनेक बहाना गरेर ठेकेदारले काम नगरेको पुल सेक्टर नं ५ कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले बताए । ‘ठेकेदार पन्छिन खोजेजस्तो देखिन्छ । गएको माघ १० मा म्याद थप र रकम भुक्तानीको पत्र पठाएको छ । हामी बुझेर पत्रको जवाफ पठाउँछौं,’ उनले भने । साइडमा खाल्डो खन्नेबाहेक काम नभएको उनले जनाए ।
गाउँपालिकाले पुल निर्माणमा ढिलाइ भएको जनाउँदै गत जेठ ३१ मा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीमार्फत सडक विभाग पुल महाशाखा बबरमहल काठमाडौंलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । पालिकाले गत फागुन १५ मा पुनः ठेकेदारको फर्म महादेव खिम्ती निर्माण सेवालाई कामको प्रगति नभएको कारण सोध्दै पत्राचार पनि गरेको छ । तिला नदीमा पक्की पुल नबन्दा गेलाका स्थानीय पिली र बिर्तामोडबाट हिँडेर गाउँ पुग्न बाध्य भएको स्थानीय सुई पोख्रेलले बताए । यहाँको पुल बनेपछि सुर्खेतबाट जुम्ला जाने गाडी मान्मको उकालो नगएरै भर्तागाड, सुकाटिया, मुग्राहा हुँदै गेलाको पान्तडीबाट बित्तामोडमा कर्णाली राजमार्गमा जोडिनेछन् ।
बेलिब्रिज निर्माणमै १ करोड ३० लाख सकियो
यहीँ ठाउँमा पक्की पुल निर्माणको ठेक्का हुनुअघि बेलिब्रिज निर्माण गर्न १ करोडभन्दा बढी रकम खर्च भएको पाइएको छ । कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको महाबै र शुभकालिका गाउँपालिकालाई कर्णाली राजमार्गसँग छिटो जोड्न ७ वर्षअघि यही तिला नदीमाथिको पान्तडी बेलिब्रिज निर्माणका लागि १ करोड ३० लाख खर्च भए पनि हाल कुनै संरचना छैनन् ।
बेलिब्रिजको गाउँपालिका र सडक विभागको गरी १ करोड ३० लाख खर्च भइसकेको छ । नदी वारिपारि बनाएका संरचना र केही सामान बाढीले बगाए पनि त्यो पनि अललपत्रै परेको महाबै घर भएका एकीकृत समाजवादीका नेता चित्रसिंह गाउँलेले बताए । बेलिब्रिजको सामान बाढीले बगाए पनि पक्की पुलका लागि टेन्डर भएर अझै काम सुरु नभएको उनले सुनाए ।
‘पुल निर्माणका लागि सडक विभागको ३० लाख खर्च भइसकेको छ भने महाबै गाउँपालिकाको १ करोड पनि सकिएको छ,’ गाउँपालिका पूर्वउपाध्यक्ष मनराज शाहीले भने । सडक विभागले बेलिब्रिजको स्टिल पार्ट ढुवानी र साइडको पर्खाल उठाउन रकम खर्च गरेको हो भने गाउँपालिकाले बेलिब्रिज निर्माण हुने स्थलसम्म सडक निर्माण चट्टान फुटाउन खर्च गरेको थियो ।
पान्तडीमा बेलिब्रिज निर्माण गर्न सडक विभागले दैलेखको रामाघाटमा नेपाली सेनाले जडान गरेको बेलिब्रिजको स्टिलपार्ट पान्तडीमा जडान गर्ने गरी १ करोड १४ लाख रकमको स्टिमेट तयार गरी ठेक्का गरेकोमा घटेर हिमाली निर्माण सेवा जुम्लाले ८२ लाखमा ठेक्का लिएको थियो । २०७४ चैतमा सम्झौता गरेर २०७५ असारसम्म कार्यसम्पन्न गर्नुपर्नेमा पुल नबनेरै रकम सकिएको स्थानीयको गुनासो छ ।
पान्तडी पुल बनाउन ठेकेदारबाट पेटी ठेकेदारले काम लिए पनि स्टिलपार्टको नटबोल्ड नमिलेकाले काम गर्न नसकिएको पेटी ठेकेदार अक्कलबहादुर शाहीले बताए । ठेकेदारले बलबहादुर बस्यालले ७० लाखमा पेटी ठेकेदार शाहीलाई बेलिब्रिज निर्माणको जिम्मा दिएका थिए । ‘पुरानो बेलिब्रिजको नट बोल्डलगायत सामान नमिलेकाले काम गर्न सकिएन,’ पेटी ठेकेदार शाहीले भने, ‘दैलेखको मालाचौरबाट रामाघाटबाट ल्याइएको बेलिब्रिजको सामान ल्याए, फिटिङ मिलेन काम गर्न सकिएन ।’
सडक विभागले पुल निर्माणको काम नै रद्द गरेको उनको दाबी छ । आफूले काम गरेको १० लाख रकम नपाएको पनि उनको गुनासो छ । १३ लाख रुपैयाँ दैलेखको मालाचौरबाट बेलिब्रिजको स्टिलपार्ट ढुवानीमा खर्च भएको, ९ सय बोरा सिमेन्ट र २० क्विन्टल सरिया ल्याइएको पेटी ठेकेदार शाहीले सुनाए । बेलिब्रिज निर्माणका लागि भएको ठेक्काअनुसार काम नभएपछि ठेक्का रद्दको प्रक्रियामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
