हुग्दी र मोवा खोलामा करिब ४५ र १०३ मिटर अग्लो बाँध बनाई दुई जलाशय निर्माण गरिने
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभर १५६ वटा पम्प स्टोरेज आयोजना पहिचान गरेको थियो । त्यसमध्ये ४२ हजार मेगावाटका ३३ वटा आयोजना छनोट र स्तरीकरण गरिएको प्राधिकरणले जनाएको छ ।
रुकुम (पश्चिम) स्थित स्यार्पुतालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ । काठमाडौं उपत्यका एवम् विद्युत् भार केन्द्र नजिकै, पहुँच सडक, प्रसारण लाइनलगायत सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवाखोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिमपम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आयोजना विकास विभागले हाल आयोजनाको डेस्क अध्ययन गरिरहेको छ ।
आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १०३ मिटर अग्लो बाँध बनाई दुई जलाशय निर्माण गरिनेछ । विद्युत् गृह मोवाखोलामा रहनेछ । हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानी प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादनपछि मोवाखोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला (माथिल्लो जलाशय) मा खसालिने प्राधिकरणले जानकारी दिएको छ । आयोजनालाई बिजुलीको बढी माग हुने समय (पिक) मा ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ ।
पम्प स्टोरेज आयोजनामा विद्युत्को न्यूनतम माग भएको (अफपिक) अथवा ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ । यसरी भण्डार गरिएको पानीलाई पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ । विद्युत् प्रणाली स्थिरता, पिक डिमान्ड एवम् खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्त्वपूर्ण मानिन्छ । अफपिक समयमा पम्प गरी भण्डारण गरिएको पानीको प्रगोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रूपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महँगोमा बिक्री गर्न सकिन्छ । आयोजनाबाट वार्षिक रूपमा करिब ३ अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब ७ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
