आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढ्यो
काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेको छ । गत बिहीबारको तुलनामा २.६७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ८ सय ९०.२८ बिन्दुमा उक्लेको छ । आइतबारको वृद्धि पछिल्लो पाँच महिनायताकै उच्च हो ।
यसअघि ०८१ असोज १५ मा एकै दिन नेप्से १ सय १४ अंकले बढेको थियो । गत बिहीबार ४९ अंकले बढेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति दोहोर्याएको हो ।
गत साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले असल कर्जाबापत गर्दै आएको नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरेको छ । यस्तै, बैंकले प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (नन डेलिभरेबल फरवार्ड) आफूसँग राखेर विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि प्राथमिक पुँजीको १५ प्रतिशतसम्म मात्र विदेशी मुद्रा आफूसँग राखेर विदेशमा लगानी गर्न पाउने व्यवस्था थियो । यी व्यवस्थाले बैंकको नाफा वृद्धिमा टेवा पुग्ने भएकाले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको जानकार बताउँछन् ।
मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले गरेका व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने सम्भावना देखिएकाले ती कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण देखिएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘मौद्रिक नीतिका व्यवस्थाले बैंकको नाफा बढ्ने र खराब कर्जाको सीमा ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याउनुले बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ,’ उनले भने, ‘यसकारण विगतमा बजार बढ्दा पनि बैंक तथा वित्तीय कम्पनीका सेयरको मूल्य धेरैले बढ्न सकेको थिएन । अब सेयर मूल्य बढ्ने पालो बैंक तथा वित्तीय संस्थाकै हो कि भन्ने संकेत देखिन्छ ।’
आइतबार कारोबारमा आएकामध्ये १९६ वटा कम्पनीको सेयर मूल्य बढ्यो, ४४ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रह्यो । १ लाख ३९ हजार ५ सय ९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १४ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च हो । यसअघि ०८१ भदौ ११ मा १८ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । आइतबार बैंक तथा वित्तीय संस्था, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमालगायत उपसमूहका परिसूचक अन्य परिसूचकको तुलनामा केही धेरैले बढेका छन् ।
यसैगरी सेयर बजारको आकार (कुल बजार पुँजीकरण) का हिसाबले नयाँ रेकर्ड कायम भएको छ । आइतबार कुल बजार पुँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ । यो करिब साढे ६ महिनायताकै उच्च हो । यसअघि गत साउन ३१ मा कुल बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको सेयर संख्या (कित्ता) लाई सोही दिनको बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । यही प्रक्रियाबाट गणना गर्दा आइतबारको पुँजीकरणले हालसम्मकै नयाँ रेकर्ड बनाएको हो । यो अवधिमा नयाँ कम्पनी सूचीकृत भएको, सूचीकृत कम्पनीका हकप्रद र बोनस सेयर थपिएको र धेरै सेयर भएका कम्पनी सेयर मूल्य बढेको लगायत कारण कुल बजार पुँजीकरणले नयाँ रेकर्ड बनाएको हो ।
