नेपाल लिटरेचर फेस्टिभल : ‘बैंकिङ क्षेत्र डराउनुपर्ने अवस्थामा छैन’

एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा राख्दा बैंक र व्यवसायीलाई असर गर्ने सरोकारवालाको भनाइ

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Nepal Literature Festival: 'Banking sector is not in a state to be afraid'

पोखरा — नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताले पत्रकार यज्ञ बञ्जाडेसँगको संवादमा नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको बताएका हुन् ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकको अवस्था बजारमा सुनिएजस्तो गम्भीर नरहेको बताए । ‘बैंकको अवस्था सिटामोलसम्म दिन परेको अवस्था हो । त्यहाँभन्दा माथि जान परेको छैन,’ उनले थपे, ‘हाम्रो बैंकिङ बलियो छ । किन भन्दा केन्द्रीय बैंकको मनिटरिङ र बैंकभित्र जुन किसिमको बलियो पोलिसी, रणनीति र आवश्यकताअनुसारको विकास छ त्यो गरिराखेका हुन्छौं ।’ 

पछिल्ला महिनामा ब्याजदर घटेकाले व्यवसायीलाई सहज भएको उनले दाबी गरे । तर लगानी गर्ने वातावरण नदेखेर ऋण लिन नआएको हुन सक्ने शेरचनले बताए । बैंकले ऋणी खोजिरहने भएकाले प्रस्ताव लिएर गएमा त्यसमा लगानी गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा राख्दा भने बैंक र व्यवसायीलाई असर गर्ने सम्भावना रहेको उनले औंल्याए ।

 ‘हामीले आयात–निर्यात गर्ने क्रममा विभिन्न देशका बैंक, व्यावसायिक घरानासँग कारोबार गर्छौं । हेर्ने नजर फरक हुन सक्छ,’ शेरचनले भने, ‘त्यसबापत थप शुल्क लगाउन सक्ने सम्भावना छ । कतिपय देशले हामीलाई पन्छाउने सम्भावना छ ।’ नेपालले ग्रे लिस्टमा पर्दा पर्ने असर हेरेर त्यसलाई समाधान गर्न अहिल्यै लाग्नुपर्ने उनले बताए । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लगानीयोग्य पैसा थुप्रनु र खराब कर्जा बढ्नु बैंकिङ क्षेत्रका लागि चुनौती रहेको धारणा राखे । नीति नियम वा रणनीति बनाएर सदुपयोग गर्न सके लगानीयोग्य पैसा थुप्रिएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘लगानीयोग्य ८ सय अर्ब रुपैयाँ बैंकसँग छ । यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने चुनौती छ,’ उनले भने । खराब कर्जा ५ प्रतिशतभन्दा बढी नरहेकाले बैंकिङ क्षेत्र धराशायी नभएको उनले जिकिर गरे । तर, खराब कर्जा बर्सेनि बढ्दै गएकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

अर्थतन्त्र कोभिडको समयमा शिथिल भए पनि अहिले सुधार भइसकेको उनको दाबी छ । ‘गतवर्ष र यो वर्षको ६ महिनामा सबै सूचक सकारात्मक छन्,’ उनले भने, ‘हिजो १४ प्रतिशत ब्याजदर थियो । करिब ७/८ प्रतिशत घटिसक्यो भनेपछि सकारात्मकतर्फ अघि बढेको छ ।’ अर्थतन्त्र र बैंक अन्तरसम्बन्धित हुने भएकाले एउटा बिग्रँदा अर्को पनि समस्यामा पर्ने उनको भनाइ थियो । 

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कर्जा प्रवाह बढाउन लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए । ‘उत्पादन भइसकेपछि त्यसलाई बजारसम्म लैजान सक्ने संयन्त्रको विकास भएको छैन । किसानले उत्पादन गर्नुपर्ने, किसानले नै बिक्री गर्नुपर्ने अनि घाटा पनि व्यहोर्नुपर्ने भएको छ,’ उनले भने, ‘राज्यबाट प्रत्याभूतिको वातावरण गर्न सक्यौं कि सकेनौं भन्ने कुरा पनि छ ।’ कर्जा लिएपछि तिर्नु पर्दैन भन्ने भाष्य बनाउने र बैंक कर्मचारीलाई अभद्र व्यवहार गर्नु अर्थतन्त्रका लागि राम्रो नभएको उनको भनाइ थियो । 

व्यावसायिक क्षेत्रमा लगानी नहुनुको एउटा कारण खुला सिमाना पनि रहेको पौडेलले औंल्याए । ‘खुला सीमा छ । आयात निर्बाध गर्न सक्छौं । छिमेकी देशमा अनुदान दिएर किसान र उत्पादन क्षेत्रबाट न्यून लागतमा उत्पादित वस्तु बजार आउँछ,’ उनले थपे, ‘यहाँ चर्को मूल्यमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न सके कि सकेनन् भन्ने लेखाजोखा गर्न आवश्यक छ ।’ अर्थतन्त्रका सबै पक्ष मिले मात्र उत्पादन, वितरण र बजारीकरण, आयात, निर्यातलाई व्यवस्थित गर्न सकिने उनले बताए । 

सत्रमा सहभागी गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले वित्तीय सेवा अपांगमैत्री हुन नसकेको गुनासो गरिन् । अपांगता भएकाले मोबाइल बैंकिङको प्रयोग गर्न नपाएको उनले बताइन् । कार्यकारी निर्देशक पौडेलले वित्तीय सेवा प्रविधिमैत्री हुने क्रममा रहेको जवाफ दिए । आफूहरूले देशभर रहेका ५ हजार १ सय एटीएम मेसिन र बैंकिङ सेवा अपांगमैत्री बनाउन परिपत्र गरेको उनले जानकारी दिए । 

पोखराका पर्यटन व्यवसायी बबरजंग गुरुङले बैंकले करोडका योजनामा मात्र लगानी गर्ने गरेको तर साना र मझौला व्यवसायीलाई चासो नदिने गुनासो गरे । जवाफमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले साना व्यवसायीलाई हेपिएको भन्ने सत्य नभएको दाबी गरे । कृषि विकास बैंकबाट डेढ लाखभन्दा बढीले कृषि तथा महिला उद्यमशील कर्जा लिएको उनले सुनाए ।

कान्तिपुर

Link copied successfully