सौर्य ऊर्जासम्बन्धी ६३ कम्पनीलाई पीपीएका लागि दुई महिना थप

कम्पनीले आशयपत्र जारी भएको ९० दिनभित्र अनुमतिपत्र ल्याउन नसकेकाले पीपीएका लागि समय थपिएको प्राधिकरणको भनाइ

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Two months more for PPA to 63 solar companies

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले सोलार ऊर्जा प्रवर्द्धकका लागि सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) लिएर विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया अघि बढाउन दुई महिना समय थप गरेको छ । 

यसअघि प्राधिकरणले छानेका ६३ कम्पनीले आशयपत्र जारी भएको ९० दिन अर्थात् फागुन १५ भित्र प्रतिमेगावाट ६ लाख रुपैयाँ धरौटी राखेर विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया अघि बढाउनुपर्थ्यो । उक्त अवधिमा कुनै पनि प्रवर्द्धकले अनुमतिपत्र लिन नसकेकाले २ महिना समय थप गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘तोकिएको अवधिसम्म कुनै प्रवर्द्धक लाइसेन्स लिएर आएनन्,’ उनले भने, ‘त्यसैले २ महिना समय थपिएको छ । उक्त अवधिभित्र छनोट भएका सोलार प्रवर्द्धकले लाइसेन्स लिई धरौटी बुझाएर प्रक्रिया अघि बढाउन सक्नेछन् ।’

विद्युत् विकास विभागले सर्वेक्षण लाइसेन्स जारी गर्न सिँचाइ विभाग र प्रदेशबाट प्रस्तावित सौर्य विद्युत् आयोजना सिँचाइयोग्य जमिनभित्र नपर्ने भनी सिफारिसपत्र ल्याउनुपर्ने अनिवार्य थियो । ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८ र सिँचाइ गुरुयोजना (अद्यावधिक २०२४) बीच द्विविधा हुँदा सिँचाइ विभागले सिफारिसपत्र दिएको थिएन ।

विद्युत् विकास विभागले माघ २८ मा ग्रिड कनेक्टेड कार्यविधि संशोधन गरी सर्वेक्षण लाइसेन्स लिन वडा वा पालिकाबाट मात्रै सिफारिस ल्याए पुग्ने व्यवस्था गरेको छ । विभागको उक्त व्यवस्थापछि केही कम्पनीले सर्वेक्षण लिइसकेको एक प्रवर्द्धकले जनाए । यद्यपि अधिकांशले लाइसेन्स लिन बाँकी रहेकाले प्राधिकरणले समय थप गरेको ती प्रवर्द्धकको भनाइ छ । 

प्राधिकरणले गत चैतमा ८०० मेगावाट सौर्य ऊर्जाका लागि प्रस्ताव आह्वान गरेको थियो । प्रस्तावमा १३४ कम्पनीका ३६ सय मेगावाट बराबर प्रस्ताव परेको थियो । प्राप्त प्रस्तावमध्ये प्राविधिक मूल्यांकनबाट १२७ कम्पनीको ३४९२.५ मेगावाट मात्रै वित्तीय प्रस्तावका लागि योग्य थियो । गत कात्तिकमा खोलेको वित्तीय प्रस्तावबाट ६३ कम्पनीको ९६० मेगावाट मात्रै छनोट गरिएको प्राधिकरणले जनाएको छ ।

वित्तीय प्रस्तावमा सबैभन्दा कम मूल्य र सबस्टेसनको क्षमताअनुसार पीपीएका लागि छनोट गरिएको थियो । प्रस्ताव माग्दा नै २० प्रतिशतभन्दा बढीलाई छनोट गर्न सकिने व्यवस्था राखिएको प्राधिकरणले जनाएको छ । सोहीअनुरूप पीपीएका लागि ९६० मेगावाट क्षमताको ६३ कम्पनीलाई छनोट गरिएको थियो । 

प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्ने गरी आह्वान गरेको बोलपत्रअनुसार १० मेगावाटभन्दा साना आयोजनाले १८ महिनाभित्र र त्यसभन्दा ठूला आयोजनाले दुई वर्षभित्र विद्युत् उपलब्ध गराउनुपर्ने सर्त छ  । प्राधिकरणले तराईका लोड सेन्टरमा बढ्दो विद्युत्को माग र विद्युत् आपूर्ति सन्तुलन कायम गर्ने गरी प्रस्ताव आह्वान गरेको थियो ।

प्राधिकरणको स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरूको पीपीए गर्ने गरी आयोजना छानेको हो । जलविद्युत् आयोजना निर्माण गर्न लामो समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रै सञ्चालनमा आउन सक्ने भएकाले हिउँदमा बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आबद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिँदै आएको छ ।

प्राधिकरणको ९६३ औं बैठकले सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरिद गर्न प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरेको थियो ।

कान्तिपुर

Link copied successfully