म्याग्दीका तीन खोलामा ११ जलविद्युत् आयोजना बन्दै, ३९० मेगावाट बिजुली थपिने

अन्नपूर्ण गाउँपालिकाबाट मात्र पाँच वर्षमा चार आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा पठाए १ सय ११ मेगावाट बिजुली 

फाल्गुन १७, २०८१

घनश्याम खड्का

11 hydropower projects will be built in three rivers of Myagdi, 390 megawatts of electricity will be added

म्याग्दी — म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ३ सय ९० मेगावाट बिजुली थपिनेछ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट मात्र पाँच वर्षमा ४ वटा आयोजनाले १ सय ११ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् ।

निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् ।

अन्नपूर्ण–४ स्थित ४०.७ मेगावाट क्षमताको नीलगिरी पहिलो (एन–१) र ६ मेगावाट क्षमताको रेले खोला आयोजना अन्तिम चरणमा छन् । ‘हाम्रो पालिकाबाट चार आयोजनाको उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको छ । थप दुई आयोजना पनि एक वर्षभित्र ग्रिडमा जोडिँदै छन्,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘ग्रिडमा जोडिएका आयोजनाबाट रोयल्टीसमेत आउन थालेको छ । प्रक्रियामा रहेका अन्य आयोजनालाई पनि स्थानीय सरकारले भरपूर सहयोग गर्छन् ।’

राहुघाट खोलाको पुछारमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ३७.५ मेगावाटको मंगले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२.५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजनाले ७० देखि ९५ प्रतिशतसम्म भौतिक प्रगति गरेका छन् । 

‘एक पटक ठेक्का टर्मिनेट भोगेको प्रोजेक्टले दोस्रो जोखिम अब पार गरेको छ । प्रोजेक्ट अब ८५–९० प्रतिशत प्रगति माथि उक्लेकाले राहुघाट आयोजना अन्तिम चरणमा पुगेको छ,’ रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक गणेश केसीले भने, ‘भूक्षयग्रस्त भूगोल, बग्ने प्रकृतिको माटो भएको, गिट्टी, बालुवासमेतका सामग्रीको समस्या सुल्झिँदै गएकाले केही महिनामा विद्युत् उत्पादन गर्न सक्छौं ।’ 

म्याग्दी खोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दी खोला आयोजना र ५३ मेगावाटको अपरम्याग्दी–१ ले धमाधम टनेल निर्माण गरिरहेका छन् । सोही खोलामा ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला र ५७ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गरी यसै साता टनेल खन्न सुरु गरेका छन् । 

‘विकासमा अति पिछडिएको धौलागिरी गाउँपालिकामा विद्युत् आयोजनाको लर्को लागेको छ । मोटरबाटोको कल्पना नगरेका स्थानीयले पहुँचमार्ग पाएका छन् । बिजुलीको लाभ जसले उठाउला, पहिलो लाभ भने डोरीमा झुन्डिएर यात्रा गर्दै आएका बगरावासीले पाएका छन्,’ धौलागिरी गाउँपालिकाकी निवर्तमान अध्यक्ष थमसरा पुनले भनिन्, ‘यी आयोजना नआएका भए हाम्रा गाउँमा मोटर पुग्ने तत्काल कल्पनै थिएन । अब पूरा भएको छ ।’

अन्नपूर्ण–४ स्थित ४२ मेगावाटको मिस्त्री खोला, ७१ मेगावाटको नीलगिरी क्यास्केट (एन–२), ४ मेगावाटको घलेम्दी खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना गरी १ सय ११ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

म्याग्दीको उत्तरी भेगमा बेनीदेखि मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमि खण्डमा बग्ने कालीगण्डकी नदीमा १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ५० मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५०.५३ मेगावाटको बेनी कालीगण्डकी गरी करिब ३ सय ८८ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् । 

कालीगण्डकी गर्जले लगानी सुनिश्चित गर्न सकेको छैन भने बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’ मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । अन्य थप आधा दर्जनभन्दा बढी साना तथा मध्यम आयोजनाले विद्युत् सर्भे अनुमति लिएर पीपीए पर्खिएका छन् ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully