आन्तरिक राजस्व कार्यालय वीरगन्जको राजस्व असुलीमा सुधारको संकेत 

फाल्गुन १६, २०८१

शंकर आचार्य

Inland Revenue Office Birganj signals improvement in revenue collection

पर्सा — आय कर र अन्तःशुल्क असुली बढेपछि आन्तरिक राजस्व कार्यालय वीरगन्जको समग्र राजस्व असुलीमा सकारात्मक सुधार आएको छ । चालु आर्थिक वर्षको बुधबारसम्म कार्यालयले लक्ष्यभन्दा करिब २ प्रतिशत बढी राजस्व असुली गरेको हो ।

समीक्षा अवधिमा बुधबारसम्म ५ अर्ब १६ करोड ६४ लाख ५३ हजार रुपैयाँ राजस्व असुली लक्ष्य रहेकामा कार्यालयले ५ अर्ब २६ करोड ८८ लाख ७ हजार संकलन गरेको छ । जुन लक्ष्यको १ सय १ दशमलव ९८ प्रतिशत हो । 

कार्यालयका अनुसार संकलित राजस्वमा आय कर र अन्तःशुल्कको योगदान बढी छ । समीक्षा अवधिमा १ अर्ब ६७ करोड ६१ लाख ३२ हजार आयकर असुलीको लक्ष्य रहेकामा १ अर्ब ७१ करोड १५ लाख ६ हजार संकलन भएको छ । 

त्यसैगरी, अन्तःशुल्क शीर्षकबाट १ अर्ब ८९ करोड ८४ लाख ६३ हजार असुलीको लक्ष्य रहेकामा २ अर्ब ३४ करोड ५२ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

बहाल कर, ब्याज कर र मूल्य अभिवृद्धि कर भने लक्ष्यभन्दा कम असुली भएको छ । समीक्षा अवधिमा ३ करोड ४४ लाख ३३ हजार रुपैयाँ बहाल कर असुलीको लक्ष्य रहेकामा १ करोड २५ लाख ९२ हजार असुली भएको कार्यालयले जनाएको छ । 

त्यसैगरी, ४ करोड ६६ लाख ३५ हजार रुपैयाँ ब्याज कर असुली लक्ष्य रहेकामा ३ करोड ९६ लाख रुपैयाँ असुली भएको छ । १ अर्ब ५१ करोड ६ लाख ९६ हजार मूल्य अभिवृद्धि कर असुलीको लक्ष्य रहेकामा १ अर्ब १५ करोड ३८ लाख ११ हजार रुपैया संकलन भएको छ । 

कार्यालयका सूचना अधिकृत रामेश्वरकुमार मिश्र अर्थतन्त्रमा सुधारको संकेतसँगै आयकर र अन्तःशुल्क असुलीमा पनि सुधार आएको बताउँछन् । गत आर्थिक वर्षमा राजश्व असुलीको लक्ष्य भेट्टाउन नसकिएकामा चालु आवमा भने उत्साहजनक रुपमा संकलन हुने संकेत देखिएको उनको भनाइ छ ।

कार्यालमा सर्वाधिक अन्तःशुल्क बुझाउने मदिरा उत्पादक उद्योग हिमालयन डिष्टिलरीको उत्पादन वृद्धिसँगै त्यसको प्रत्यक्ष असर अन्तःशुल्क असुलीमा आएको बढोत्तरीबाट देखिएको मिश्रले बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully