१.५ अर्ब डलरको क्रिप्टो चोरीमा लाजारस समूह संलग्न रहेको एफबीआईको दाबी

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

FBI Claims Lazarus Group Involved in $1.5 Billion Crypto Heist

काठमाडौँ — अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले १.५ अर्ब डलरको क्रिप्टो चोरीको घटनामा उत्तर कोरियाली ह्याकिङ समूह ‘लाजारस’ संलग्न रहेको बताएको छ । केही दिनअघि मात्रै क्रिप्टो विनिमय प्लाटफर्म ‘बाइबिट’ बाट चार लाख इथेरियम चोरी भएको र त्यसको मूल्य करिब डेढ अर्ब डलर रहेको बाइबिटले जनाएको थियो ।

इथेरियम चोरीको घटनाले क्रिप्टो बजारमा तंरग ल्याएको छ । क्रिप्टो मुद्राको मूल्य प्रभावित बनेका छन् ।

अघिल्लो महिना प्रतिसिक्का १ लाख ९ हजार डलर पुगेको बिटक्वाइनको मूल्य अहिले निरन्तर ओरालो लागेर ७९ हजार ७ सय डलरमा झरेको छ । क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो चोरीका रूपमा हेरिएको यस घटनामा उत्तर कोरियाली सरकार समर्थित भनिने लाजारस समूह संलग्न रहेको अनुमान भइरहँदा एफबीआईले बिहीबार आधिकारिक रूपमै दोषी ठहर्‍याएको हो । 

लाजारस समूहले सुनियोजित रूपमा क्रिप्टो एक्सचेन्ज प्लाटफर्म बाइबिटको इथेरियम वालेट ह्याक गरेर क्रिप्टो चोरी गरेको एफबीआईको आरोप छ । यस समूहलाई विश्वभरका विभिन्न ‘हाई-प्रोफाइल’ साइबर हमलाका घटनामा संलग्न भएको देखिन्छ । सन् २०१४ को सोनी पिक्चर्स ह्याक वा सन् २०१६ मा बंगलादेशको केन्द्रीय बैंकमा भएको साइबरहाइस्ट (डकैती) मा लाजारस समूह संलग्न थियो ।

ह्याकरले चोरी गरिएका इथेरियम नयाँ ठेगानामा सारेर बेच्न थालेको भन्दै एफबीआईले चोरी गरिएका क्रिप्टो मुद्रा पहिचान गर्न र त्यसको ट्र्याकिङमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह पनि गरेको छ। अमेरिकी प्रहरी विभागले उत्तर कोरियाली साइबर क्राइम समूहलाई ‘ट्रेडर ट्रेटर’ को संज्ञा दिँदै बाइबिटबाट चोरिएका कतिपय सिक्का संकलन भएको वालेटको ठेगानासमेत सार्वजनिक गरेको छ । यसो गर्दा ह्याकरहरूको कारोबार पहिचान गर्न र थप कारोबार रोक्न सहयोग पुग्ने एफबीआईले अपेक्षा गरेको छ ।  

बाइबिटले भने ह्याकर समूहले चोरी गरेको क्रिप्टो फिर्ता लिन एउटा बाउन्टी कार्यक्रम सुरु गरेको छ । चोरिएका क्रिप्टोको करोबार वा मुभमेन्ट ट्रयाक गर्न सक्नेलाई बाइबिटले १० प्रतिशत बाउन्टी (इनाम) दिने घोषणा गरेको छ । कम्पनीले अहिलेसम्म चोरिएकामध्ये १० लाखजतिको कारोबार रोक्न सफल भएको दाबी पनि गरेको छ ।  

कान्तिपुर

Link copied successfully