निगमका जहाज चीन, काठमाडौं र दिल्लीमा थन्किँदा ८१२ यात्रु अलपत्र

फाल्गुन १४, २०८१

सुरज कुँवर

812 passengers were stranded when the corporation's ship got stuck in China, Kathmandu and Delhi

काठमाडौँ — दुई न्यरोबडी चीन र काठमाडौं अनि एक वाइडबडी दिल्लीमा ‘उडान अयोग्य’ हुँदा टिकट खरिद गरेर विमानस्थल पुगेका सयौं यात्रु स्वदेश–विदेशमा अलपत्र परेका छन् । निगमले समेत मंगलबार करोडौं रुपैयाँको आम्दानी गुमाउनुपरेको छ ।

उडान तालिका सार्वजनिक गरेर निगम व्यवस्थापनले बेलैमा जहाज उपलब्ध गराउन नसक्दा मंगलबार मलेसियाको क्वालालम्पुर, भारतको बैंगलुरु र दिल्लीबाट काठमाडौं फर्किने गरी तीन गन्तव्यका ५ वटा उडान रद्द हुँदा ८ सय १२ यात्रु अलपत्र परेका हुन् ।

निगमका एक निर्देशकका अनुसार जहाज अभावमा निगमले मलेसिया र भारतको बैंगलुरुको उडान रद्द गरेको हो । काठमाडौंबाट दिल्ली पुगेको वाइडबडी विमान पनि नियमित मर्मतमा परेकाले उतै रोकिएको छ । सी–चेकका लागि चीन पठाइएको जहाज मंगलबार पनि नेपाल आइपुगेन । उतै रोकियो । तीन दिन साउदी अरबको दमाममा बिग्रिएको लुम्बिनी न्यरोबडी विमान मंगलबार बिहान काठमाडौंमा अवतरण भयो ।

तर एक साताअघि देखिएको ल्यान्डिङ गियरको समस्या बल्झेपछि निगमका इन्जिनियरले यात्रुको सुरक्षा कारण देखाउँदै यो विमानलाई काठमाडौंमा ग्राउन्डेड गरे । मंगलबार साँझ ५ बजे दिल्ली पुगेको अन्नपूर्ण वाइडबडी ‘अन सेड्युअल’ मर्मतका कारण इन्जिनियरले दिल्लीमै रोकेका छन् । त्यो विमानबाट २ सय ७२ जना यात्रु मंगलबार बेलुकी काठमाडौं आउनुपर्ने थियो, जसमा धेरैजसो शिवरात्रिका लागि आउन लागेका भारतीय तीर्थयात्री रहेको निगमको मार्केटिङ विभागका एक अधिकारीले बताए ।

‘दिल्लीमा रोकिएको जहाजको एयर इन्डियाका प्राविधिकले जाँच गरिरहेका छन्,’ निगमका एक इन्जिनियरले कान्तिपुरसँग भने, ‘सम्भवतः वाइडबडी बुधबार काठमाडौं फर्किएला ।’ त्यस विमानबाट नेपाल आउन टिकट खरिद गरेका यात्रु कति होटलमा राखिए कतिले यात्रा रद्द गरे भन्नेबारे यकिन तथ्यांक निगमसँग नभएको उनको भनाइ छ । ‘एउटा जहाज चीनमा अड्कियो । अर्को तीन दिन मलेसियामा तीन दिन दमाममा रोकिँदा अन्नपूर्ण वाइडबडीले उडान गर्‍यो । त्यसको मर्मत गर्न नपाइएकाले दिल्लीमा ग्राउन्डेड गर्नुपरेको हो,’ ती इन्जिनियरले भने ।

भुक्तानीमा समस्या सृजना भएपछि सी–चेकका लागि माघ २० मा चीनको सेनयाङमा रहेको न्यरोबडी सगरमाथा उतै रोकिएको छ । उक्त जहाज मंगलबार काठमाडौं अवतरण गर्ने तालिका थियो । तर त्यो विमान काठमाडौं आउने अझै अनिश्चित रहेको निगमका अधिकारीहरूले जनाएका छन् । त्यो जहाज लिन निगमका चालक दलका सदस्य एक साताअघि चीन पुगेका थिए ।

यसैबीच मंगलबार बिहान काठमाडौं आउनेबित्तिकै ग्राउन्डेड भएको न्यारोबडी लुम्बिनी तीन दिन मलेसियामा अगाडिको प्राांमा समस्या देखिएपछि रोकिएको थियो । त्यहाँ मलेसियन एयरलाइन्सका प्राविधिकले त्यो विमान मर्मत गरेर शनिबार मात्रै नेपाल ल्याइएको थियो । त्यही राति १ सय ९ जना यात्रु लिएर दमाम पुगेको न्यरोबडीमा पुनः नोज ल्यान्डिङ गियरकै समस्या दोहोरिएपछि पुन दमाम विमानस्थलमा ग्राउन्डेड भएको थियो । 

साउदी एयरलायन्सका प्राविधिकको सहायतामा मर्मत गरेर मंगलबार बिहान ९० जना यात्रु ल्याएर काठमाडौं अवतरण भएको लुम्बिनी न्यरोबडी उडाउन नमिल्ने प्राविधिकले सुझाव दिएपछि काठमाडौंमा ग्राउन्डेड गरिएको छ । यो विमान र चीनमा भएको न्यारोबडी ग्राउन्डेड हुँदा मंगलबार काठमाडौं–मलेसिया–काठमाडौं र काठमाडौं–बैङलुरु–काठमाडौंका उडान रद्द भएका हुन । यी विमानको गडबडीले निगमका बुधबारका तालिका पनि प्रभावित हुने र सयौं यात्रु अलपत्र पर्ने निगमका पाइलट बताउँछन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully