मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज  

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Semi-annual review of monetary policy today

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न लागेको छ । यसका लागि राष्ट्र बैंकले साँझ पाँच बजे सञ्चालक समितिको बैठक डाकेको छ । उक्त बैठकबाट पारित भएपछि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ ।

आउँदो चैत २५ देखि गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदै छ । यस कारण यो समीक्षा उनको कार्यकालको अन्तिम हो । अघिल्ला वर्ष कसिलो मौद्रिक नीति ल्याएका गभर्नर अधिकारीले तुलनात्मक रूपमा यस वर्ष लचिलो मौद्रिक नीति ल्याएका थिए । तर, वित्त नीतिमा अपेक्षित सुधार हुन नसक्दा मौद्रिक नीतिको उद्देश्यअनुरूप नत कर्जाको माग बढ्यो नत वित्तीय क्षेत्रमा आशातीत सुधार भयो । सुरुमै लचिलो मौद्रिक नीति ल्याएको भन्दै पहिलो समीक्षामा राष्ट्र बैंकले नीतिमा खासै परिमार्जन गरेको थिएन ।

अहिले बाहिरिन लागेका गभर्नर अधिकारीले केही नीतिगत व्यवस्था खुकुलो बनाउने अपेक्षा गरिएको छ । यद्यपि अपेक्षाअनुसार खुकुलो व्यवस्था गर्ने नरहेको राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । ‘एफएटीएफले नेपाललाई ग्रे लिस्टमा राखेको छ । सो सूचीबाट बाहिर निष्कासन लागि केही वित्तीय नीतिहरूका कडाइ गर्ने पर्ने सर्त पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता नेपालले गरेको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यस कारण पनि कतिपय अवस्थामा गभर्नरले चाहेर पनि धेरै लचिलो बनाउन सक्ने अवस्था नहुन सक्छ ।’

पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको छ भने कर्जा असुलीमा समस्या भएको छ । यही कारण बैंकका अध्यक्षहरूले खराब कर्जाको वर्गीकरणसम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गर्न, खराब कर्जामा पाँच प्रतिशतको सीमा बढाउन माग गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully