वीरगन्ज नाकाबाट इन्धन आयातबाटै बाहिरियो १ खर्ब ४ अर्ब

फाल्गुन १२, २०८१

शंकर आचार्य

1 trillion 4 billion was removed from the import of fuel through the Birganj border

पर्सा — प्रमुख स्थल नाका वीरगन्जबाट चालु आर्थिक वर्षको माघ मसान्तसम्म इन्धनको उच्च आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टितेलको आयातबाटै मात्रै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ बाहिरीएको छ । 

भन्सारको तथ्यांकले यस अवधिमा सबैखाले इन्धनको आयात बढेको देखिएको छ । डिजेल पेट्रोलियम पाइप लाइनबाट आयात हुँदै आएकामा पछिल्लो समय पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै आयात हुन थालेको छ ।  

समीक्षा अवधिमा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५ लाख ८१ हजार ७ सय ९९ किलोलिटर डिजेल आयात भएको छ । गत आवको यसै अवधिमा ५४ अर्ब १२ करोड रुपैयाँको ५ लाख १९ हजार ८ सय ४० किलोलिटर डिजेल आयात भएको थियो । 

चालु आवको ७ महिनामा यो नाका हुँदै २२ अर्ब १४ करोड रुपैयाँको २ लाख ५५ हजार किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा २२ अर्ब ४० करोड रुपैयाँको २ लाख २६ हजार किलोलिटर पेट्रोल आयात भएको थियो । 

चालु आवको समीक्षा अवधिमा २० अर्ब ९० करोड बराबरको १८ करोड २९ लाख किलो एलपीजी ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा १६ अर्ब ३० करोड रुपैयाँको १५ करोड ९२ लाख किलो एलपीजी ग्यास आयात भएको थियो । 

चालु आवको समीक्षा अवधिमा ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको १ लाख ५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ७१ करोड रुपैयाँ बराबरको ९७ हजार २ सय ६४ किलोलिटर हवाई इन्धन आयात भएको थियो । 

यस्तै, ४१ करोड रुपैयाँ बराबरको ४ हजार ५ सय ६० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा ३८ करोड रुपैयाँ बराबरको ३ हजार ६ सय किलोलिटर मट्टितेल आयात भएको थियो । 

वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै प्रमुख नाका हो । वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वमा इन्धनको आयातबाट संकलन हुने राजस्वकै सर्वाधिक योगदान हुने गर्छ । चालु आवको समीक्षा अवधिमा मात्र वीरगन्ज भन्सारले संकलन गरेको कूल राजस्वमा इन्धन आयातबाट संकलन हुने राजस्वको करिब ४६ प्रतिशत योगदान रहेको छ । 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारी इन्धनको आयात बढ्नुमा सवारी साधनको संख्या बढ्नु र औद्योगिक प्रयोजनमा पनि इन्धनको प्रयोग बढ्दै जानु मुख्य कारण हुन सक्ने बताउँछन् । 

बर्सेनि दसैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिँदा अन्य वस्तुसँगै इन्धनको आयात पनि बढ्ने प्रवृत्ति रहेको र अन्य महिनामा सामान्य अवस्थामै इन्धन भित्रिने गरेको उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully