वीरगन्ज हुँदै मोटरसाइकलका पार्टपुर्जा आयात तीव्र

फाल्गुन ११, २०८१

शंकर आचार्य

Import of motorcycle parts through Birganj is fast

पर्सा — वीरगन्ज नाकाबाट अनएसेम्बल्ड (तयार नगरिएको) मोटरसाइकलको आयात ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा अनएसेम्बल्ड मोटरसाइकल आयात करिब तीन गुणाले बढेको हो ।

आयातकर्ताले मोटरसाइकलका पार्टपुर्जा छुट्टाछुट्टै आयात गरेर नेपालमै मोटरसाइकल तयार पारी बिक्री गर्ने क्रम बढेको छ । यसले विगतका वर्ष जस्तो तयारी मोटरसाइकलको आयात भने घटिरहेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनामा यो नाका हुँदै २ अर्ब ५ करोड रुपैयाँ बराबरको १९ हजार ९ सय ४५ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । यसबाट १ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ७६ करोड रुपैयाँ बराबरको ७ हजार ६ सय ३८ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो, जसबाट ६७ करोड राजस्व संकलन भएको थियो ।

नेपालमा सर्वाधिक बिक्री हुने पल्सर र टीभीए ब्रान्डका मोटरसाइकल जगदम्बा ग्रुपले आयात गर्ने गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले बताए । दुवै मोटरसाइकलको एसेम्बल्ड प्लान्ट नेपालमै स्थापना भइसकेकाले आयातकर्ताले तयार मोटरसाइकल आयात गर्नुभन्दा पार्टपुर्जा ल्याएर नेपालमै एसेम्बल गर्ने क्रम बढेको उनको भनाइ छ ।

अनएसेम्बल्ड मोटरसाइकल आयात गर्दा तयारी मोटरसाइकलको तुलनामा अन्तःशुल्क कम लाग्ने भएकाले पनि यस्तो आयात बढेको तिवारी जनाउँछन् । ‘सामान्यतया तयारी मोटरसाइकल आयात गर्दा ३० प्रतिशत अन्तःशुल्क लाग्छ,’ उनले भने, ‘तर अनएसेम्बल्ड मोटरसाइकल आयात गर्दा १५ प्रतिशत मात्र अन्तःशुल्क तिरे पुग्छ ।’

मूल्य अभिवृद्धि कर १३ र भन्सार शुल्क ३० प्रतिशत नै लाग्छ । यसरी अन्तःशुल्क मात्र आधा लाग्दा मोटरसाइकल निर्माता कम्पनीको धेरै बचत हुने भएकाले उनीहरूले नेपालमै एसेम्बलिङ प्लान्ट जडान गरी मोटरसाइकल तयार पार्न थालेको उनको भनाइ छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully