४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणले लियो गति

तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचना निर्माण ५० प्रतिशत पूरा 

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Construction of 400 KV Lapsiphedi substation has taken off

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणले गति लिएको छ । सबस्टेसन निर्माण आगामी पुस (डिसेम्बर २०२५) भित्र सक्ने लक्ष्य लिएर काम भइरहेको छ ।

तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।

स्थानीय समस्याका बाबजुद एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रूपमा (फुल फेज) मा भइरहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो ‘हब’ रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेका थिए । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण (आईई) तथा पूरक आईईलगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माणस्थल छानिएको थियो । स्थानीयले उठाएका जायज माग सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको छ । 

खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवनलगायत सिभिल संरचनाको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानललगायत उपकरणको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।

तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचनाको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरूको निर्माण सकिएपछि सबस्टेसनमा उपकरण जडान सुरु हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

‘स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भयो । तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ,’ घिसिङले भने, ‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेल मैदान गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सम्बोधन गरिरहेका छौं ।’

स्थानीयसँगको प्रतिबद्धताबमोजिमका सीएसआरअन्तर्गतका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउनसमेत उनले आयोजना व्यवस्थापनलाई निर्देशन दिए । तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिनेछ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा गरिएको छ । करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी छ । 

बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । उक्त टावर लप्सीफेदी क्षेत्रमै पर्छन् । करिब ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाडौं प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सक्ने लक्ष्यसाथ काम भइरहेको आयोजना प्रमुख नीतिश पौडेलले बताए । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको हो । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत्लाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।

लम्सीफेदी–चाँगुनारायण निर्माणमा अझै अवरोध 

लप्सीफेदी सबस्टेसनबाट काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइएको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा ७ वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण नै सुरु हुन सकिरहेको छैन । 

आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी सबस्टेसन निर्माण सकिइसकेको छ । तर विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेसन सञ्चालनमा आउन सकिरहेको छैन । उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालिएपछि मुख्य रूपमा काठमाडौंको पूर्वी भेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । हाल उक्त क्षेत्रमा चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully