मझगाउँ विमानस्थलको काम सुस्त

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Majhgaon airport work is slow

कञ्चनपुर — तीन वर्षअघि निर्माण सुरु भएको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थलको काम सुस्त गतिमा चलिरहेको छ । धावनमार्ग निर्माणका लागि आवश्यक जमिन खाली नहुँदा निर्माणले गति लिन नसकेको हो । 

पछिल्लो पटक विमानस्थल निर्माणका लागि आवश्यक जमिन खाली गर्ने सहमति भएपछि केही आशा पलाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको साढे दुई सय मिटर जमिन खाली गराउने विषयमा गृह मन्त्रालयमा यसै साता सरोकारवाला मन्त्रालय र निकायबीच छलफल भएको थियो । छलफलपछि आवश्यक जमिन खाली गर्ने सहमति भएको हो । 

‘पछिल्लो समयमा भएको छलफल र सहमतिपछि केही आशा पलाएको छ, सेनाले भने जमिन खाली गराउने विषयमा कुनै सुरसार गरेको छैन,’ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र चन्दले भने, ‘निकुञ्ज र सेनाले कुनै जानकारी आएको छैन भनेको छ ।’

केन्द्रमा छलफल र सहमति भइसकेपछि अब धमाधम काम गरिनुपर्ने उनको भनाइ छ । सेनाले प्रयोग गरिरहेको खेलमैदान खाली गरे विमानस्थलको धावनमार्ग १५ सय २५ मिटरसँगै सेफ्टी एरिया पनि निर्धारण हुनेछ ।

अहिले १३ सय मिटर मात्रै धावनमार्गमा बेस निर्माणको काम भइरहेको छ । ठाउँ खाली भए साढे ३ महिनामा धावनमार्ग निर्माणका काम गर्न सकिने योजना रहेको विमानस्थल निर्माण गरिरहेको कान्छाराम/केएस/उमा एन्ड कम्पनीका इन्जिनियर जितेन्द्र यादवले बताए । ‘फागुन १५ पछि धावनमार्ग कालोपत्र गर्ने योजना छ,’ इन्जिनियर यादवले भने, ‘कालोपत्रको काम गर्मीमा राम्रो हुने भएकाले फागुन मध्यपछि मात्रै गर्ने योजना छ ।’ अहिले कंक्रिट बेसको काम भइरहेको उनको भनाइ छ । 

Majhgaon airport work is slow

‘अहिले रन–वे निर्माण काम मात्रै भइरहेको छ, यसको दुवैतर्फ सेफ्टी एरिया पनि खाली गर्न बाँकी छ,’ विमानस्थल आयोजनाका लागि खटिएका नागरिक उड्डयन प्राधिकरणका प्राविधिक निर्मल थापाले भने, ‘दुवैतर्फ ७५/७५ मिटर जमिन खाली हुनुपर्छ, अहिले केही क्षेत्रमा रूख बुट्यान छन् ।’ उक्त रूख–बुट्यान कटान गर्ने वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ । ‘सेफ्टी एरिया निर्माणको काम पनि बाँकी छ,’ थापाले भने, ‘किनारमा ड्रेन पनि निर्माण गरिनेछ ।’ वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएपछि रूख तथा बुट्यान कटान गरिनेछ र त्यसपछि उक्त काम गरिनेछ । 

२०३० देखि हवाई सेवा सुरु भएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । लामो समयदेखि विमानस्थल निर्माणका लागि आन्दोलनपछि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा २०७८ देखि निर्माणको काम सुरु भएको हो ।

यसअनुसार भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र संघीय सरकारको ५० प्रतिशत लगानीमा रहनेछ । ३ वर्षमा काम सक्ने समयावधि तोकेर कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको हो । माघ १० मा समय सकिएपछि १ वर्ष थप गरिएको छ ।

कान्तिपुर

Link copied successfully