सुपारी आयात खुलाइयो, नयाँ उद्योगलाई पनि अनुमति

जानकार भन्छन्, ‘तस्करी हुने सुपारीको परिमाणात्मक बन्देज हटाएर सरकारले गलत गर्‍यो, यसले निर्यात हुने अन्य वस्तुमा समेत असर पार्न सक्छ’

फाल्गुन ६, २०८१

राजु चौधरी

Betel nut import opened, new industries also allowed

काठमाडौँ — नयाँ खुलेका उद्योगलाई पनि आयात अनुमति दिन सरकारले तस्करी हुने सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । गत बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात गर्न अनुमति दिने भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा प्रतिबन्ध हटाइएको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जनाए । 

सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । कोभिड–१९ महामारी बढेका बेला विदेशी विनिमय सञ्चिति बढाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बन्देज लगाएका थिए । अर्थतन्त्र चलायमान हुन थालेपछि २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाइएको थियो । त्यसपछि ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीच पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ बनाएर आयात अनुमति दिइएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा उद्योगी व्यवसायीले एक वर्षमा केराउ ८० हजार टन, सुपारी २५ हजार टन, छोकडा ५ हजार टन, नधुलाएको मरीच १५ हजार टन आयात गर्न सक्ने गरी परिमाणात्मक बन्देज लगाइएको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए । यतिबेला पनि प्रधानमन्त्री केपी शर्मा ओली नै छन् । अहिले नयाँ उद्योगका लागि पनि खुला हुने गरी बन्देज हटाइएको हो ।

‘कार्यविधिले सुरुमा एक पटकका लागि बढीमा दुई सय टनको इजाजत दिने सक्ने अधिकार दिएको थियो । पछि कार्यविधि परिमार्जन गर्दै उद्योगीको मागअनुसार दिइएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले कार्यविधि पनि खारेज गरिएको छ । र, औद्योगिक प्रयोजनका लागि भन्दै आयात खुलाइएको छ ।’ नयाँ कार्यविधि उद्योग विभागले बनाउँदै छ । 

परिमाणात्मक बन्देज लागेपछि उद्योगी व्यवसायीको चर्को ‘लबिइङ’ भएको थियो । बिचौलियाकै प्रभावमा परेको मागअनुसार वितरण गरिएको थियो । अहिले नयाँलाई पनि आयात सुविधा दिने गरी पुरानो कार्यविधि खारेज गरिएको हो । ‘यसअघि आयात गर्न कम्तीमा पाँच वर्ष उद्योग सञ्चालन भएको हुनुपर्थ्यो । अहिले भने नयाँ खुलेका उद्योगलाई पनि आयात गर्न पाउने गरी राजपत्रमा प्रकाशन भएको छ,’ ती अधिकारीले भने । बिहीबार प्रकाशित राजपत्रमा उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रूपमा केराउ, सुपारी, मरीच पैठारी गर्न अनुमति दिने उल्लेख छ । तर कति परिमाणमा दिने खुलाइएको छैन । यसको अर्थ सबै उद्योगीले आफूअनुकूल ल्याउन सक्छन् भन्ने हो । 

औद्योगिक प्रयोजनका लागि भनिए पनि उद्देश्य तस्करी नै रहेको पूर्ववाणिज्य सहसचिव रवि सैंजूले बताए । ‘सरकारले बन्देज हटाउनु भनेको तस्करीलाई प्रोत्साहन गर्नु हो । द्विपक्षीय व्यापारमा यस्तो हुँदैन, खुला सीमाले तस्करी हुन्छ, विगतमा पनि भएकै हो,’ सैंजूले भने, ‘यसले दुई मुलुकबीचको सम्बन्ध बिगार्छ । भारतले नकारात्मक रूपमा लिए निर्यात हुने अन्य वस्तुमा कर लगाउन सक्छ ।’ 

सुपारीको विषयमा भारतीय पक्षले पटक–पटक प्रश्न उठाउँदै आएको छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीको भारत भ्रमणमा पनि यही प्रश्न उठेको थियो । ‘त्यसबेला मन्त्रीसँग भारतीय अधिकारीले यस विषयमा गुनासो गरेका थिए । त्यसपछि मन्त्रालयले केही कडाइ गरेको थियो,’ सैंजूले भने, ‘अहिले फेरि तस्करी सलबलाएको छ । सरकारले व्यापारीभन्दा राष्ट्रका लागि सोच्ने हो । नेपालमा उत्पादित सुपारी निर्यात गर्न पाइन्छ । तर तेस्रो मुलुकबाट आयात गरी तस्करी भएको छ ।’ औद्योगिक प्रयोजनका नाममा पुनः तस्करी बढ्ने सम्भावनासमेत रहने उनको भनाइ छ । सुपारी इन्डोनेसिया, मलेसिया, क्यानडालगायत मुलुकबाट आयात हुन्छ । चालु आर्थिक वर्षको ६ महिना ४१ करोड १७ लाखको सुपारी आयात भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ५ करोड ८४ लाखको सुपारी आएको थियो । 

स्वदेशी उत्पादन न्यून हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । देशको वार्षिक उत्पादन साढे ८ हजार टन हो । यसले माग धान्दैन । माग पूर्ति गर्न आयात नै गर्नुपर्छ । तर अस्वाभाविक आयात गरेर तस्करी भइरहेको जानकार बताउँछन् । ‘सुपारी आयात गरेर केही भ्यालु एड गरेर गुड्खा निर्यात गर्न सकिन्छ । तर यहाँ सुपारी नै तस्करी भयो,’ सैंजूले भने । 

सुपारी भारत निर्यात गर्दा यसमा गैरभन्सार अवरोध मात्रै लाग्ने हो । गैरभन्सार अवरोध भनेको खाद्यको अनुज्ञापत्र, उत्पत्तिको प्रमाणपत्र, क्वारेन्टाइनलगायत प्रमाणपत्र चाहिन्छ । त्यही प्रक्रिया पूरा गर्न झमेला हुने भन्दै तस्करीको बाटो रोज्ने गरिएको हो । तस्करी बढेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति एवं राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति अन्तर्गतको उपसमितिले छानबिन गरेका थिए । तर निर्देशन लत्याउँदै सरकारले आयात खुला गर्ने निर्णय गरिरहेको छ । 

सरकारले अनुमति दिँदा उद्योग विभागबाट आवश्यक जाँचबुझ गरी सम्बन्धित उद्योगका लागि आवश्यक कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएको मालवस्तु पैठारीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्ने उल्लेख छ । उद्योगबाट प्राप्त स्वीकृति स्किम र स्वीकृत परिमाण सीमाभित्र रही वाणिज्यले इजाजत दिने उल्लेख छ । ‘नयाँ स्थापना भएका उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि भ्याट, प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि र उद्योगको उत्पादन क्षमता उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि चाहिन्छ,’ राजपत्रमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा लगायतको विवरण पेस गर्नुपर्छ ।’

सञ्चालनमा रहेका उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्र, कम्पनी अद्यावधिक भएको पत्र र भ्याट–प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ । पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, सञ्चालन अवस्था, चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा गर्नुपर्ने पनि राजपत्रमा उल्लेख छ । उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ पैठारी गरेको भए पैठारीको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाणलगायतको विवरण पनि पेस गर्नुपर्नेछ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully