लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर सडकमा फेरि टेण्डर आह्वान

फाल्गुन २, २०८१

दुर्गालाल केसी

A tender has been called again for the Ghorahi-Tulsipur road, which has been stalled for a long time

दाङ — लामो समयदेखि अलपत्र परेको घोराही–तुलसीपुर सडकमा फेरि टेण्डर आह्वान भएको छ । यसअघि भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक पूरा नभई अलपत्र परेको थियो ।

सम्झौता अनुसारको म्याद सकिँदा पनि प्रगति नभएपछि ठेक्का सम्झौता रद्द गरिएको थियो । अहिले नेपाल सरकारको लगानीमा उक्त सडक क्षेत्र स्तरोन्नतिका लागि ठेक्का भएको हो । सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले बिहीबार सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको छ ।

घोराहीदेखि तुलसीपुरसम्मको २१.५८ किलोमिटर सडक फराकिलो र स्तरोन्नति गरी फोरलेन बनाउन बोलपत्र आह्वान भएको छ । घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म सडक स्तरोन्नति हुने मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीले जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

यसअघि नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सम्झौतामा २०७५ माघ १४ गते सम्झौता भई सडक निर्माण सुरु भएको थियो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक फोरलेन तथा टुलेन बनाउने योजना थियो । बबईदेखि घोराही बजारसम्म ६.५३ किमी टु लेन, घोराहीदेखि थापाचोक सर्रा ४.०५ किमी फोरलेन, थापा चोकदेखि नारायणपुर ३.५ किमी टु लेन, नारायणपुरदेखि खैरा २.१ किमी फोरलेन, खैरादेखि दुधरास ३.७ किमी टु लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किमी फोरलेन निर्माण गर्ने योजना रहेको थियो ।

म्याद थप्दाथप्दै अलपत्र छोडियो
सुरुमा २०७७ बैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने सम्झौता थियो । समयमा सम्पन्न नभएपछि २०७८ जेठ ६ गतेसम्म म्याद थप गरियो । त्यसपछि २०७८ साउन २७ मा सक्ने गरी म्याद थप भयो । त्यसपछि फेरि २०७८ पुस १९ गतेसम्म म्याद थप भयो । फेरि २०७९ वैशाख २९ सम्म म्याद थपियो । जती म्याद थप्दा पनि काम नभैरहेको अवस्थामा फेरि २०८० असार ३१ गतेसम्म म्याद थपियो ।

A tender has been called again for the Ghorahi-Tulsipur road, which has been stalled for a long time

सडक निर्माणको म्याद पाँचपटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३  प्रतिशत मात्रै भएको थियो । सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकन डलर रहेको थियो । अहिले सडकको लम्बाई घटाएर स्तरोन्नति गर्न थालिएको छ । पहिले लमही–घोराही–तुलसीपुर सडक अन्तर्गत कुइरेपानीदेखि तुलसीपुरसम्म थियो भने अहिले घोराही बजारदेखि तुलसीपुर बजारसम्म मात्रै छ ।

त्यतिबेलाका मुख्य भारतीय ठेकेदार तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रहृमदेव पाण्डे एकपटक मात्रै सडक हेर्न पुगेका थिए । अन्य समयमा न उनी सडकमा देखिए, न उनले खटाएका मानिसले काम गरे । उनले जिम्मेवारी दिएका व्यक्तिहरु आठपटक फेरिएका थिए । सुवास श्रेष्ठ, अनुप पाण्डे, जनक डाँगी, फेरि अनुप पाण्डे, एकेन्द्र खड्का र विजय पाठकले सडकमा हात हाल्दै, छोड्दै गरे । अन्तमा २०७८ फागुन २६ देखि श्रेष्ठ कन्स्ट्रक्सनका रोशन श्रेष्ठले सडक निर्माणको काम गरे । त्यसपछि अन्तमा सुशिलजंग रायमाझीले काम गर्ने जिम्मेवारी लिएका थिए । त्यसपछि ठेक्का नै रद्द भयो ।

त्यतिबेला मुख्य ठेकेदार भारतीय हुने प्रावधान थियो । जसका कारण एकपछि अर्को ठेकेदार फेर्दैमा समय बितेको थियो । मुख्य ठेकेदारले अन्य व्यक्तिलाई दिने गरेका थिए । अलपत्र परेको सडक अब निर्माण होला कि भन्ने आशा पलाएको यातायात व्यवसायीको भनाइ छ । 

नेपालकै बजेटमा निर्माण हुन थालेकाले सहजता हुने उनीहरुको बुझाइ छ । यस सडकमा दैनिक ५ सय बढी गाडीहरु चल्ने गरेको र सडकका कारण गाडीमा टुटफुट तथा दुर्घटनाले क्षति भइरहेको त्रिसिद्वेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताए । सडक भत्काएर अलपत्र छोड्दा र बीचबीचमा खाल्डा हुँदा दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । 

फोरलेन सडक निर्माण सुरु गरेयता यस भएका दुर्घटनामा २५ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । फोरलेन निर्माणका नाममा सडक भत्काउन सुरु गरेदेखि हालसम्म ५९ वटा दुर्घटना भएको र त्यसमा ८१ सवारी साधन संलग्न रहेको कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा ९४ जना घाइते भएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully