निक्षेपको औसत ब्याजदर स्थिर, एउटाको बढ्दा अर्कोको घट्यो

१८ बैंकको ब्याजदर स्थिर, एउटाले ०.२५ प्रतिशत बढायो, अर्कोले सोही बराबर घटाएपछि फागुनमा निक्षेपको औसत ब्याजदर स्थिर

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

The average interest rate on deposits is constant, as one increases, the other decreases

काठमाडौँ — फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर स्थिर रहने भएको छ । बुधबार बैंकहरूले प्रकाशन गरेको मासिक ब्याजदरले फागुनमा पनि माघकै बराबर निक्षेपको औसत ब्याजदर कायम हुने भएको हो । फागुनका लागि एउटा वाणिज्य बैंकले निक्षेपको ब्याज बढाउँदा अर्कोले घटाएको छ भने १८ बैंकको स्थिर छ ।

१८ वटा बैंकले फागुनका लागि पनि यही माघकै ब्याजदर स्थिर राखेपछि २० वटा वाणिज्य बैंकको औसत ब्याजदरमा भने परिवर्तन आएको छैन । जसअनुसार फागुनमा पनि सबै वाणिज्य बैंकमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत ६.००१ प्रतिशत छ । यो यही माघकै बराबर हो ।

–फागुनमा सबै वाणिज्य बैंकमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत ६.००१ प्रतिशत 

–लक्ष्मी सनराइज बैंकद्वारा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशत कायम 

–ग्लोबल आईएमई बैंकले बनायो मुद्दती निक्षेपको अधिकतम सीमा ६ प्रतिशत 

–बाँकी १८ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखे 

–६ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड (३.७ प्रतिशत) ले वृद्धि 

–कुल निक्षेपमध्ये सबैभन्दा धेरै हिस्सा ५२.५ प्रतिशत मुद्दती खातामा

फागुनका लागि लक्ष्मी सनराइज बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको छ । माघमा यो बैंकको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.७५ प्रतिशत छ । ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेपको अधिकतम सीमा ०.२५ प्रतिशत बिन्दुले बढाएर ६ प्रतिशत बनाएको छ । माघमा यस्तो ब्याजदर ५.७५ प्रतिशत थियो । बाँकी १८ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका हुन् ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड (३.७ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ । 

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमध्ये सबैभन्दा धेरै हिस्सा ५२.५ प्रतिशत मुद्दती खातामा छ । बचत खातामा ३४.१ र चल्ती खतामा ५.६ प्रतिशत हिस्सा छ । गत वर्षको सोही अवधिमा मुद्दती खातामा ५९.९, बचतमा २६.७ र चल्तीमा ६.८ प्रतिशत हिस्सा थियो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत छ । ०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत थियो । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड (५.२ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७ प्रतिशतले बढेको देखिन्छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत छ । गत आर्थिक वर्षको पुससम्म यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत थियो । 

चालु आर्थिक वर्षको पुससम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.३, विकास बैंकहरूको ४.४ र वित्त कम्पनीको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ । ०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत छ भने घर जग्गा धितो सुरक्षणमा ६४.९ प्रतिशत छ । ०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.७ प्रतिशत थियो । 

यस आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.४, निर्माणमा ७.७, थोक तथा खुद्रा व्यापारमा ४.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ५.७, सेवा उद्योगमा ५.७, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.८ र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.०२ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । 

चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.१, मार्जिन प्रकृतिको २६.३, ट्रस्ट रिसिट (आयात) ५६.६, हायर पर्चेज कर्जा ३.८, नगद प्रवाह कर्जा ४.७ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ । सो अवधिमा अधिविकर्ष कर्जा ९.८ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully