निगमको जग्गा विवादको पेसी सरिरहँदा अनुदानको पाइप लाइन परियोजनामा ढिलाइ

विवादित जग्गाको नवौं पेसी आज, बीटुबी सम्झौता भएको ५४ महिनाभित्रै निर्माण सक्ने लक्ष्य रहे पनि पेसी सरिरहँदा परियोजनाको काम रोकियो

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Delays in grant-in-aid pipeline project as land dispute with corporation moves on

काठमाडौँ — झापास्थित नेपाल आयल निगमको जग्गा विवादमा पेसी सरिरहँदा अनुदानको पाइप लाइन परियोजनामा ढिलाइ हुने देखिएको छ । बिजनेस टु बिजनेस (बीटुबी) सम्झौता भएको ५४ महिनाभित्रै निर्माण सक्ने लक्ष्य रहे पनि पेसी सरिरहँदा परियोजनाको काम रोकिएको छ ।

निगमलाई जग्गा बिक्री गरेको व्यक्तिले (पुराना धनी छत्रबहादुर कार्की र उनकी बहिनी रिता कार्की) ले नै पुनः जग्गा हडप्ने प्रयास गरेपछि विवाद अदालतसम्म पुगेको थियो ।

जिल्ला अदालतको आदेशअनुसार डिजिटल म्यापिङ प्रविधिबाट जग्गा पुनः नापजाँच भइसकेको छ । जिल्ला अदालत झापाको रोहबरमा नापी कार्यालय, मालपोत कार्यालय, प्रहरी प्रशासन र निगमका कर्मचारीसहितको टोलीले डिजिटल म्यापिङ प्रविधिबाट जग्गा नापजाँच भएको थियो ।

जग्गा नापजाँच टोलीले प्रतिवेदन अदालतमा पेस गरे पनि छिनोफानो हुन सकेको छैन । पेसी सरेको सर्‍यै हुँदा पाइप लाइन परियोजनाको काम अघि बढ्न नसकेको निगम जग्गा व्यवस्थापन समिति संयोजक प्रदीप यादवले बताए ।

‘गत दसैंताका बीटुबी भएको थियो, त्यसको ५४ महिनाभित्र परियोजनाको काम सक्नुपर्छ । तर पेसी सरेको सर्‍यै भयो । अब बुधबार नवौं पेसी छ,’ यादवले भने, ‘अदातलबाट छिट्टै छिनोफानो भइदिए राम्रो हुन्थ्यो ।’ झापामा भारतीय आयल कर्पोरेसन (आईओसी) ले अनुदानमै परियोजना बनाइदिने सम्झौता भएको छ । यसका लागि सरकार–सरकार (जीटुजी) सम्झौता गर्न ढिलाइ भएको उनको भनाइ छ ।

इन्धन भण्डारण विस्तार गर्ने योजनासहित निगमले २०७४ मा झापाको मेचीनगर नगरपालिका–१३ मा २३ बिघा ३ कठ्ठा १३ धुर जग्गा किनेको थियो । उक्त जग्गामध्ये स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले दुई बिघा जग्गा हडप्ने प्रयास गरेको निगमको दाबी छ । झापामा खरिद गरिएको जग्गाको लालपुर्जा भए पनि फिल्डमा दुई बिघा कम भेटिएको थियो । त्यसपछि निगमले जग्गा संरक्षण तथा यकिन गर्न ‘जग्गा व्यवस्थापन समिति’ गठन गरेको थियो ।

नापीको टोलीले गत फागुन ३० मा जग्गा नापजाँच गरी पुर्जाअनुसारकै जग्गा फिल्डमा पुर्‍याइदिएको समितिका संयोजक यादवले जनाए । नापीले अपुग भनेर निगमको स्वामित्वमा ल्याइएको दुई बिघा छत्रबहादुर कार्की र रिता कार्कीले निगमलाई बिक्री गरेको जग्गा भएको नापी कार्यालयले जनाएको छ । दुई जनाको संयुक्त कित्ताको ८ बिघामध्ये ५ बिघा निगमले किनेको थियो । तर जग्गा नापजाँच गर्दा ३ बिघा मात्रै पाएको थियो । त्यसपछि विवाद उत्पन्न भएको हो ।

गत चैत ६ मा जिल्ला अदालत, झापाले निगमलाई जग्गामा कुनै संरचना नबनाउन अन्तरिम आदेश दिएको थियो । दुवै पक्षलाई अदालतमा उपस्थित गराएर साउन २९ मा बहसका लागि पेसी तोकिएको थियो । त्यसपछि भदौ दोस्रो जिल्ला अदालत, झापाले पुनः नापजाँच गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत, झापाको रोहबर र प्रहरी प्रशासन, मालपोत तथा नापी अधिकृतको समन्वयमा असोज ५ मा नापजाँच भएको थियो । जग्गाको नापजाँच गरे पनि विवाद समाधान हुन सकेन । त्यसपछि कात्तिक १० मा डिजिटल प्रविधिबाट नापचाँज भएको थियो । डिजिटल प्रविधिबाट नापचाँज गरिएको प्रतिवेदन कात्तिक १४ मा अदालतमा पेस गरियो । अदालतले कात्तिक १७ मा पेसी तोकेको थियो । त्यसयता ८ पटक पेसी तोकिए पनि सरेको सर्‍यै छ । अब भने बुधबार (माघ ३०) को लागि पेसी तोकिएको निगमले जनाएको छ । 

कान्तिपुर

Link copied successfully