अर्थ सचिव उपाध्यायले कार्यभार सम्हाले

माघ २९, २०८१

कान्तिपुर संवाददाता

Finance Secretary Upadhyay took charge

काठमाडौँ — अर्थ सचिव घनश्याम उपाध्यायले कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्ले उपाध्यायलाई अर्थ सचिव बनाउने निर्णय गरेसँगै मंगलबार उनले कार्यभार सम्हालेका हुन् । मन्त्रालयको सचिवमा उपाध्यायलाई स्वागत गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

अर्थ सचिव उपाध्यायले कार्यभार सम्हाल्ने कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशील बनाउन इमान्दारीपूर्वक योगदान पुर्‍याएको उल्लेख गर्दै उनको अनुभव र ज्ञानलाई अर्थ मन्त्रालयले आगामी दिनमा पनि लिने बताए ।

अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधान एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान अर्थ सचिव घिमिरेले  विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको भूमिमा प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन आफूले सदा सहयोग गर्ने बताए । सोही कार्यक्रममा निवर्तमान अर्थसचिव घिमिरेलाई बिदाइ गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully